Quantcast
Channel: अन्तर्वार्ता – Online Khabar
Viewing all articles
Browse latest Browse all 1390

बिहारबाट आएकाहरुले विरोध गर्दा दु:ख मान्दिनँ

$
0
0

पुतलीसडकस्थित शंकरदेव क्याम्पसअगाडिको एउटा घरको चार तलामाथि उक्लेपछि सौरभसँग जम्काभेट भयो । उनी टेबुलमा घोत्लिएर केही लेख्दै थिए ।

कम्प्युटरको जमानामा पनि यी ‘हाइप्रोफाइल लेखक’ कापी कलममै अभ्यस्त छन् । हाइप्रोफाइल यस अर्थमा कि उनको कुनै पनि लेखनीले देशको बौद्धिक जमातलाई झ्याप्पै आकषिर्त गर्छ । उनका लेखले देशमा नयाँ वैचारिक तरंग सिर्जना गरिदिएका उदाहरण थुप्रै छन् ।

हामीलाई उनीसँग गर्नु थियो, नितान्त अनौपचारिक कुराकानी । त्यति मिडियामा आउन नचाहने, आए पनि व्यक्तिगत विषयमा प्रवेश गर्न नचाहने सौरभ यसपटक भने खुलस्त प्रस्तुत भए । कतिपयका लागि ‘मिस्ट्री’ का रुपमा रहेको आफ्नो लाइफस्टाइलबारे सम्भवतः पहिलोपटक खुलेर वर्णन गरे र आफूमाथि लाग्ने गरेका आरोपको जवाफ पनि दिए । प्रस्तुत छ, सौरभसँग चिरञ्जीवी पौडेलले गरेको कुराकानीः

shaurav

बुवाआमाले प्रेमले राखिदिएको नाम खारेज गरेर आफ्नो न्वारन आफैं किन गर्नुभयो ?

मलाई फलानोको छोरो, भाइ, नाति भनेर चिनिनँ कहिल्यै मन परेन । सानैदेखि आफ्नै नामबाट चिनिनुपर्छ त भन्ने लाग्थ्यो । त्यसैले थरका रुपमा आफूसँग जोडिएर आएको लिगेसीलाई बेलैमा इन्डियाइदिएको (पन्छाइदिएको) हुँ । थर हटाइसकेपछि नाम पनि किन पुरानो लिएर हिँड्ने भन्ने लाग्यो र नयाँ नाम राखेँँ ।

कसैले वास्तविक नाम उच्चारण मात्र गर्‍यो भने तपाईंलाई किन चिढिनुहुन्छ ?

पुरानो नामले बोलाउँदा मलाई ‘नाइटमेयर’ को फिलिङ हुन्छ । म आफैंले छाडिसकेको लिगेसीलाई कोट्याउन अरु किन उद्यत् हुन्छन् ?

तपाईंको नागरिकतामा त पुर्खाको लिगेसी जोडिएकै होला नि ?

हो । औपचारिक रुपमै नाम र थर फेरुँ भनेर १५ वर्षको उमेरमै सिडियो अफिस गएको थिएँ । त्यहाँ कर्मचारीले नाम-थर फेर्नलाई ‘सर्जमिन’ गर्नुपर्छ भने । तर, सर्जमिन गराउँदा घरका मान्छेले नराम्रो सोच्लान् भन्ने लाग्यो र गराइनँ । आखिर यत्तिकै भयो ।

काठमाडौंको मुटुमा तपाईंका पाँच-सातवटा घर छन् भन्ने सुनिन्छ । एउटा लेखकले यति अचाक्ली सम्पत्ति जोड्न सक्छ ?

हामी अहिले जहाँ बसेका छौं, यो मात्रै मैले बनाएको घर हो । त्यो पनि बुवाले बनाएको पुरानो घर भत्काएर त्यही जग्गामा अर्को बनाएको हुँ । मेरो सँगै जोडिएको साइँलादाइको घर हो । त्योभन्दा उतापट्टि माइलोदाइको । साइँलादाइ र मेरो घरको पछाडि जेठाको छ । यसरी हामी दाजुभाइका पाँचवटा घर छन् । सबै पुख्र्यौली हुन् । एउटै परिवार भएकाले सबै घरलाई आफ्नो मान्दा पनि भयो । (हाँसो)

तपाइंका पिताले छोराछोरीका लागि राम्रै बन्दोबस्त गर्न भ्याउनुभएको रहेछ, होइन ?

म अलिकति हाम्रो पुर्खाको इतिहास तपाईंलाई बताउँछु । हामी काठमाडौं आएको पृथ्वीनारायण शाह आउनुभन्दा सात वर्ष अगाडि हो । मल्लकालदेखिकै रैथाने भएकाले म त आफूलाई मातृभाषा नेपाली भएको नेवार नै मान्छु । १८२९ मा भएको तिमालको लडाइँका कमान्डर रामकृष्ण कुँवरलाई मेरा पुर्खाले सघाएका थिए । राज्य नजिते पनि मल्लकालमा आउन-जान र घरबार जोड्न रोकतोक थिएन । रामकृष्ण कुँवरले मरुटोलमा घर किने । हामीले पनि उनको घरसँगै जोडिएको घर किन्यौं । पछि रामकृष्णको घर जंगबहादुरको सौतेनी दाजु भक्तवीर कुँवरले लिए । त्यसपछि उनीहरू त्यहाँबाट सरेर धोबिचौर गए । हाम्रो घर भूतले तर्साउने भएपछि मेरा पूर्खा पनि अन्यत्र सरे ।

मेरा बाको पालामा आइपुग्दा घर क्षेत्रपाटीमा थियो । त्यो घर बहादुरशमसेरले जबरजस्ती लिइदिए । अहिले घर भएको यो जग्गा मेरो बाले हजुरबासँग किन्नुभएको हो । विभिन्न कारणले गर्दा हजुरबाको सम्पत्ति बुवासम्म आइपुगेन ।

तपाईंको औपचारिक अध्ययन कति हो र खास विज्ञता कुन क्षेत्रमा छ ?

औपचारिक पढाइमा म औसत विद्यार्थी हुँ । एसएलसीमा सेकेन्ड डिभिजन मात्रै ल्याएको हुँ । पछि पोलिटिकल साइन्समा एमए गरेँ । त्यसअघि मेडिकलको पढाइ बीचैमा छाडेर पत्रकारितामा चारवर्षे ग्राजुयसन गरेँ । जागिर खान काम लाग्ला कि भनेर पब्लिक एडमिनिस्ट्रेसन पनि पढेँ ।

विज्ञताको कुरा गर्दा म वनस्पति विज्ञानमा अलि बढी रुचि राख्छु । मैले वनस्पति विज्ञानको विषयमा ९ वटा भोल्युममा धारावाहिक किताब लेखिरहेको छु । पहिलो भाग प्रकाशित भइसकेको छ । बाँकी आठवटा भागमा अहिले काम गरिरहेको छु । दोस्रो र तेस्रो भोल्युम लेखिसिध्याएँ । चौथो र पाँचौँ भोल्युम आधा भएको छ । बाँकी तीन भोल्युमको २५ प्रतिशत जति लेखन सकिएको छ । यद्यपि प्रकाशन गर्न कुनै हतारो गरेको छैन । छापेर बाँड्ने मात्रै हो । साह्रै रुचि भएकाले बाहेक अरुले किन्दैन । पैसा आफ्नो जान्छ ।

पत्रकारिता र राजनीतिशास्त्र पढेको मान्छे, वनस्पति विज्ञानसम्बन्धी किताब लेख्दै हुनुहुन्छ । यतापट्टिको विज्ञता कसरी हासिल गर्नुभयो ?

माओवादी द्वन्द्वकालमा मनभित्र धेरै ‘फ्रस्ट्रेसन’ उत्पन्न हुन्थ्यो । त्यही फ्रस्ट्रेसनले मलाई प्रकृतिसँग नजिकिन मन लाग्यो । वनस्पतिबारे अध्ययन गर्न थालेँ । थोरै भए पनि साइन्सको ब्याकग्राउन्ड भएकाले बुझ्न गाह्रो भएन । तीन-चार वर्षसम्म बजारबाट पाएसम्म किताब ल्याएर पढेँ । वनस्पति उद्यानमा गएर बोटनिस्टहरूसँग कुरा गरेँ । उनीहरूले प्रोत्साहन दिए । त्यसपछि किताब लेख्न थालेँ ।

तपाईं नेपालमा ‘जीवित इन्साइक्लोपेडिया’ भनेर चिनिनुहुन्छ । यो विद्वताको रहस्य के हो ? कि रातदिन पढेर मात्रै बस्नुहुन्छ ?

कुनै समय त रातदिनै पढ्थेँ भन्दा पनि हुन्छ । सन् १९८५/८६/८७ तीन वर्ष मैले दैनिक १६ घन्टाभन्दा बढी पढेँ । त्यो पत्रकारिता पढ्दाको बेला थियो । कोर्सका किताबमा रुचि थिएन, खालि आउट बुक पढ्थेँ । पढाइको नशा कस्तो थियो भने नयाँ किताब घरमा ल्याएको दिन पिसाब रोकेर पढ्थेँ । पिसाबले च्यापेर खलखली पसिना आउँदा पनि सरसर्ती नपढेसम्म शौचालय नजाने । त्यतिबेला म राति २ बजेसम्म पढ्थेँ । ३-४ घन्टा मात्रै सुत्थेँ ।

त्यतिबेला पढ्ने सामग्री कसरी जुटाउनुहुन्थ्यो ?

झोँछेमा सेकेन्ड ह्यान्ड किताब पाइने पसल थियो । टुरिस्टले छाडेर गएका किताबहरू सस्तो मूल्यमा बेचिन्थ्यो । पढिसकेर फिर्ता गर्दा आधा पैसा फिर्ता पनि आउँथ्यो । त्यहाँ गतिला-गतिला किताब पनि पाइन्थे । एक पल्टमा ३-४ सय बोकेर गयो, २०-२० वटा किताब बोकेर आयो । त्यो पढिसक्न दुई महिना जति लाग्थ्यो । त्यसपछि फिर्ता गरेर अर्को लट ल्यायो ।

त्योभन्दा पहिले बाल्यकालमा म्यागजिनहरू पढ्थेँ । घरमा केही इन्डियन पत्रिकाहरू नियमित आउने गर्थे । मेरो बुवाले विश्वामित्र र बाजेले स्टेट्सम्यान पढ्ने गर्नुहुन्थ्यो । बुवाले बेइजिङ रिभ्यु र चाइना पिक्टोरियल्स, इलस्ट्रेटेड विक्ली अफ इन्डिया पनि पढ्ने गर्नुहुन्थ्यो । पत्रिका किन्न मलाई नै पठाइन्थ्यो । म ती पत्रिका बोकेर सोझै घर आउँदिनथेँ । पहिले टुँडिखेलमा घोप्टो परेर सबै पढी भ्याउँथे, अनि मात्रै घरमा ल्याउँथेँ । किनकि सोझै घरमा ल्यायो भने अरुले नसकी पढ्न पाउँदिनथेँ ।

 

अहिले कति र कस्ता पुस्तक पढ्नुहुन्छ ?

पछिल्लो कालखण्डमा विदेशीभन्दा नेपाली पुस्तक बढी पढ्दै आएको छु । १९९७ बाट मैले नेपाल र नेपालीका विषयमा प्रकाशित पुस्तक पढ्न सुरु गरेँ । सुरुमा यस्ता किताबको बिब्लियोग्राफी बनाएँ । पाएसम्म बजारबाट किनेर ती किताब किनेर ल्याएँ । नपाइएका किताब त्रिविविको लाइब्रेरी धाएर पढेँ । अहिले पनि नेपाली लेखकले नेपालका विषयमा लेखेका किताबलाई नै प्राथमिकता दिएर पढ्छु । तर, पछिल्लो समय नेपालमा पुस्तकका नाममा आत्मालाप मात्रै छापिन थाले । त्यसैले विदेशी किताब पनि पढ्न बाध्य छु । ६ महिनाअघि आमाको निधन भएपछि धेरैजसो समय घरमै बसिरहेको छु । पुरुषोत्तम राणाको नेपाली र दुई विदेशी लेखकको किताब पढ्दै छु ।

तपाईंले केही समय पत्रकारिता पनि गर्नुभयो, गोरखापत्रको जागिर के झोँक चलेर छाड्नुभयो ?

मैले ०३९ सालमा गोरखापत्र खेलकुद रिपोर्टरका रूपमा जागिर सुरु गरेको हुँ । सातौँ तहको जागिर थियो । ६ महिनापछि मलाई डेस्कमा ल्याइयो र फाल्तु बनाइयो । खासमा म बहुदलवादी भनेर चिनिएको थिएँ । त्यसैले मप्रति तत्कालीन सम्पादकहरूको पूर्वाग्रही व्यवहार रह्यो । मलाई तीन वर्षसम्म जिम्मेवारीहीनझैं बनाएर राखियो ।

बालमुकुन्ददेव पाण्डे आएपछि बल्ल मैले काम गर्न पाएँ । त्यसपछिको आठ महिना मेरो गोरखापत्रमा निकै सक्रियता थियो । त्यो अवधिमा मैले नै गोरखापत्र चलाएँ भन्दा पनि हुन्छ । उहाँले मलाई पूर्ण स्वतन्त्रता दिनुभएको थियो । सम्पादकीय पेजको जिम्मेवारी भए पनि पहिलो पेजसम्म मेरो हस्तक्षेप हुन्थ्यो ।

आठ महिनापछि के मुड चल्यो, म एक वर्ष लामो बेतलबी बिदा लिएर उद्देश्यविहीन तरिकाले मद्रासतिर गएँ । तर, तीन महिनामा नै फर्किएँ । त्यतिबेला भारतको नाकाबन्दी सुरु भएको थियो । म बिदामा थिएँ, त्यसैले घर बसिबसी मैले नाकाबन्दीको विरोधमा सिलसिलेवार लेख लेख्न थालेँ । लेख्नुअघि सम्पादकलाई सोधेको थिएँ । उहाँले भन्नुभयो- लेख, तर मेरो कुर्सी नहल्लाउ ।

मेरो लेख उहाँले हिम्मत गरेर छाप्नुभयो । त्यसले निर्कै चर्चा कमायो । तीन महिनापछि हल्लिँदै गोरखापत्र पुगेँ । जीएम श्रीष शमशेर राणासँग भेट भयो । उहाँ मलाई माया गर्नुहुन्थ्यो । उहाँले मीठो गाली गर्दै भन्नुभयो, ‘काम गर्ने तर जागिर नखाने ? यो भएन ।’ त्यसपछि उहाँले हाजिर कापी मगाउनुभो । ‘ल, मेरैअगाडि तीन महिनाको सही गर’ भनेर उहाँले आदेश दिनुभो । म अक्मकिएँ । उहाँले फेरि दोहोर्‍याएपछि मैले पनि १८० वटा हस्ताक्षर धस्काएँ । त्यसपछि एकैपटक तीन महिनाको तलब बुझेँ । भोलिपल्टदेखि नियमित अफिस आउन थालेँ ।

त्यसपछि त अफिस नआएको मान्छेलाई हाजिर गराएको कुराले हलचल नै भयो । बाहिर पत्रपत्रिकामा समाचार समेत छापिए । सम्पादक र जीएमले काखी च्यापेको मान्छे भनेर गोरखापत्रभित्र मेरो खोइरो खन्ने क्रम सुरु भयो । वातावरण उग्र भएपछि मलाई जागिर खाएर बसिरहन मन लागेन । बिराटनगर जान्छु भनेर बिदा मागेँ । लागेँ युरोपतिर । परिवारलाई पनि विराटनगर जान्छु भनेर हिँडेको हुँ । म युरोप पुगेको १५ दिनपछि मात्रै परिवारले थाहा पाए । त्यतिबेलासम्म मैले बीबीसीमा जागिर खान थालिसकेको थिएँ ।

परिवारलाई किन ढाँट्नुपर्‍यो ?

नजा भनेर किचिकिच गर्लान् भनेर । अरु कारण केही होइन ।

जागिर छाड्ने अघिल्लो दिन गोरखापत्रकै सम्पादकको धज्जी उडाएर लेख छपाउनुभयो, होइन ?

बहालबाला सम्पादकविरुद्ध लेखेको होइन । उहाँ त मेरै फेबरमा हुनुहुन्थ्यो । गोरखापत्रमा जागिर खाने अन्तिम दिनमा ‘गोदाइमास सायोनारा’ शीर्षकमा लेख लेखेको थिएँ । शीर्षकबाट कसैले नबुझुन् भनेर जापानिज शब्द हेडलाइनमा राखेको हुँ । जापानी भाषामा सायोनारा भनेको बिदाइ हो । गोदाइमास भनेको धन्यवाद हो । मेरो लेखभित्र गोरखापत्रका पुराना सम्पादकहरू काम नलाग्ने छन्, उनीहरूलाई धन्यवाद दिएर बिदा गर्नुपर्छ भन्ने खुला भनाइ थियो । ती पुराना सम्पादक त्यतिबेला जगेडामा थिए । मैले कुन सम्पादकले के-के हर्कत गरे भन्ने फेहरिस्त पनि प्रस्तुत गरेको थिएँ । यता लेख छापिएर तहल्का भयो, म त्यही दिन युरोप उडेँ ।

लन्डनमा पुग्नासाथ कसरी बीबीसीमा जागिर खानुभो र पछि किन छाडेर आउनुभो ?

मलाई बीबीसी ज्वाइन गर्न गाह्रो भएन, किनभने त्यतिबेलासम्म म लेखक-पत्रकारका रूपमा चिनिइसकेको थिएँ । अंग्रेजी राम्रो नै थियो । यद्यपि म यहाँबाट बीबीसीमै जागिर खान्छु भनेर गएको होइन । वास्तवमा म नेपाल नफर्किने गरी युरोप भासिएको थिएँ । अरु जे काम गरेर भए पनि बस्ने थिएँ ।

बीबीसीमा सबै राम्रो थियो । सुरुको तलब नेपाली रुपैयाँमा ५० हजार हुन्थ्यो, तर फर्किनुअघि डेढ लाख जति भएको थियो । तर म आमाको कारणले नेपाल फर्कें ।

नेपाल फर्केर के गर्नुभयो ?

किङ्स वेमा क्युरियो पसल खोलेँ । ६ महिना चलाएँ । धेरै घाटा लाग्यो । त्यति नै बेला कान्तिपुर दैनिक निस्कने भयो । सबै अलपत्र छाडेर कान्तिपुर गएँ । सम्पादक योगेश उपाध्याय हुनुहुन्थ्यो भने म सेकेन्ड म्यान थिएँ । सुरुका २५ स्टाफ मैले नै छनोट गरेर राखेको हुँ । र, कान्तिपुरमा डमी अंक निकालेपछि म बाहिरिएँ ।

डमी निकाल्नका लागि मात्रै कान्तिपुर जानुभएको थियो र ?

खासमा भन्दा लैनचौरले आफ्नै सेकेन्डम्यान खटायो । त्यसपछि म बस्नुको औचित्य भएन । अफिसले केही भनेको थिएन, तर आफैं छोडेँ । पछि नयाँ व्यवस्थापनले कान्तिपुर लिएपछि फेरि फर्केर ३५ दिन काम गरेँ । त्यो बेला पनि फेरि लैनचौरले बाधा हाल्यो । फेरि छोडेर हिँडेँ । त्यसपछि डे टु डे जागिर खाने इच्छा समाप्त भयो । २५ वर्ष भयो जागिरे जीवनबाट टाढिएको । त्यसयता फुलटाइम लेखक बनेँ ।

shourav_1

उमेर पनि धेरै भएको छैन, २५ वर्षदेखि घरमै बस्दा कहिलेकाहीँ एक्लो र उदासी महसुस हुँदैन ?

मनको कुरा गर्नुभो । टिममा काम नगर्दा आफू एक्लै भएको महसुस डेफिनेट्ली हुन्छ । यद्यपि साथीभाइको संगत छुटेको छैन । भेटघाट भइरहन्छ । बोर लाग्यो भने कसैलाई फोन गर्छु र भेटघाटमा निस्कन्छु । म फेरि काठमाडौंमै गुम्सिएर बसिरहेको पनि छैन । अहिलेको काठमाडौंबाट ८-९ वटा बाटो बाहिर जान्छ । म प्रत्येक महिनाजसो एउटा बाटो समातेर घुम्न गइरहेको हुन्छु । टाइम पास गर्ने हिसाबले होइन, नयाँ कुरा सिक्न र जान्नका लागि मलाई घुम्न मन पर्छ ।

आमपाठकले तपाईंका लेखहरू बुझ्नलाई नै टाउको फुटाउनुपर्छ । तपाईं पाठकलाई सन्देश दिन होइन, आफ्नो विद्वता प्रदर्शन गर्नलाई लेख्नुहुन्छ भनियो भने ?

यो ‘सब्जेक्टिभ’ कमेन्ट हो, ‘अब्जेक्टिभ’ होइन । आरोप त जे पनि लगाइन्छ । कसैले धेरै ठाउँमा प्याराग्राफ चेन्ज गर्‍यो भन्छन् । त्यो पाएनन् भने लेखनमा कंगारु उफ्राइ भयो भन्छन् । ठस्सा देखाउँछ पनि भन्छन् । कसैले रिफरेन्स दिएन भन्छन् । त्यो सबै नभए बेटाइममा लेख्यो भन्छन् ।

मेरो लेख सबैले पढ्नुपर्छ र बुझ्नुपर्छ भन्ने छैन । जसलाई लक्षित गरेर लेखेको हो, उसले बुझे पुग्छ । म अथाह पाठक चाहन्न । मेरा पाठक जति छन्, स्तरीय छन् । उनीहरू मेरो यही स्टाइलसँग अभ्यस्त छन् । म लप्सीको अचार बनाउन सक्छु, तर ख्वाइदिन सक्दिनँ । खाने काम पाठकको हो ।

तै पनि आफ्नो लेखनीलाई सरलतामा ढाल्दा के घाटा हुन्छ ?

विषय नै जटिल छ भने कसरी सरलतामा ढाल्ने ? अर्थशास्त्री गुणनिधि शर्माले एक भेटमा मलाई ‘तपाईंले लेखेको पटक्कै बुझिँदैन’ भन्नुभो । मैले भनेँ, ‘ओठे जवाफ दिएको नठान्नुस्, तर म पनि तपाइर्ंको लेख बुझि्दनँ ।’ हुन पनि अर्थशास्त्रमा सयौं जार्गन नहाली लेख्न सकिन्न । सबै जार्गनहरू बुझाउन थाल्यो भने तीन पेज लाग्छ । मेरो पनि त्यस्तै हो ।

तपाईंलाई खस अहंकारवादी, ब्राह्मणवादी, धार्मिक कट्टरपन्थी, प्रतिगामी, राजावादी, संघीयताविरोधी यावत आरोप लाग्छन् । तपाईंको प्रष्टीकरण के छ ?

म नेपालमा संघीयता चाहिँदैन भन्ने मान्छे, संघीयताविरोधी भने आपत्ति छैन । ब्राह्मणवादी भन्छन् भने त्यो मूर्खता हो । मैले ब्राह्मणको छुट्टै राज्य मागेको छु र ? धार्मिक कट्टरपन्थी पनि म होइन । मैले हिन्दू धर्म होइन, सनातन धर्मसापेक्ष संविधान भन्दै आएको छु । राजावादी भन्ने सन्दर्भमा, समर्थन नै त होइन, अलिकति सहानुभूति छ मेरो । तर, त्यसको एउटा सीमा छ । नाम मात्रैको राजतन्त्र भएको भए पनि देशको धर्म-संस्कृति जोगिन्थ्यो भन्ने मलाई लाग्छ । राजसंस्था अस्तित्वमा भए हाम्रो सर्वभौमसत्तालाई लिएर कुनै नेताले उच्च पदमा पुग्न जथाभावी सम्झौता गरेर हिँड्न सक्दैनथ्यो ।

नेपालमा फेरि राजतन्त्र र्फकन सक्छ भन्ने लाग्छ ?

यही तालको गणतन्त्र चलाउने हो भने धेरै समय टिक्न सक्दैन । कि यसलाई राम्रोसँग सम्हाल्नुपर्यो, होइन भने राजतन्त्र र्फकंदैन भन्न सकिन्न । राजनीतिमा जे पनि सम्भव छ ।

तपाई मधेसी र जनजातिको बीचमा चरम अलोकपि्रय हुनुहुन्छ, होइन ?

बिल्कुल होइन । रैथाने मधेसीहरू मेरो प्रशंसक छन् । मैले भारतसँगको सिमाना बन्द गरौं भन्दै आएको छु । सीमा खुला हुँदा मधेसी र भारतीय छुट्याउन गाह्रो भो भन्ने मेरो भनाइ हो । मैले यसो भन्दा र लेख्दा मलाई धेरै मधेसी नागरिकले फोन गरेर ‘हाम्रो मनको कुरा भन्नुभयो’ भनेर धन्यवाद दिनुभएको छ । हिजो विहारबाट आएर अंगीकृत नागरिकले भटाभट मन्त्री खाइरहेका छन्, सरकारी ओहोदा कब्जा गरिरहेका छन् । रैथानेको बोलबाला हुनुपर्छ सीमाना बन्द गरौं भन्दा तराईबाट मधेसी मूलका मानिसहरूले काफी मात्रामा फोन गरेर धन्यवाद दिएँ । विहारबाट आएकाहरूले मात्रै विरोध गर्छन् । उनीहरूले विरोध गर्दा दुःख मान्दिनँ ।

मैले आपत्तिजनक सम्झौता शीर्षकको लेख लेख्दा अंगीकृत मधेसीहरूले कान्तिपुर जलाए । त्यो लेखमा मैले पारिबाट आएर अंगीकृत नागरिकता लिएर यहाँ हालिमुहाली गरिरहेका नेताहरू को-को हुन् भनेर लेखेको थिएँ । त्यसविरुद्ध मुद्दा-मामला गर्ने चर्चा थियो । तर पछि हटे । गरेको भए उनीहरू नै फस्ने थिए । केपी ओलीले हिजो आएकाहरूलाई आज मुख्यमन्त्री किन चाहियो भन्नु त्यसैको निरन्तरता भन्ने मलाई लाग्छ । अर्काे, मैले नेपालमा किरातकाल छैन भनेर लेख्दा राई लिम्बूहरूले निकै विरोध गर्नुभयो । म त्यसको सप्लिमेन्ट्री निकाल्ने विचारमा छु ।

तपाईंलाई साह्रै सानो-सानो कुरामा माइन्ड गर्ने, माइन्ड गर्ने मात्रै होइन त्यही निहुँमा सम्बन्ध नै तोडिदिने संकुचित व्यक्ति भनेर पनि चिन्दा रहेछन् कतिपयले ?

आरोप स्विकारेको अर्थमा नलिनुस्, तर तपाईंका लागि सानो कुरा मेरो लागि ठूलो कुरा हुन सक्छ । जब कोही मान्छे आफ्नो बोली र वचनबाट पछि हट्छ, ऊ सदाका लागि मेरो आँखाबाट गिर्छ । बोली वचन फेर्नुको तार्किक कारण प्रस्तुत नगरेसम्म म फेरि उसित नजिक हुन सक्दिनँ । दोस्रो, म समयलाई एकदमै महत्त्व दिन्छु । जो व्यक्ति टाइममा पंचुअल छैन, उसँग मेरो घनिष्टता हुनै सक्दैन । कसैले मलाई भेट्न बोलाएर दिएको समयभन्दा २० मिनेट मात्रै ढिलो आयो भने सकियो । किनभने, मेरो २० मिनेट नष्ट गर्ने अधिकार कसैलाई छैन । चाहे म सुतेर नै किन नबिताउँ ।

एकजना भतिजीले विदेशबाट वालेट ल्याइदिएकी छिन् । नलिँदा पनि उनले नराम्रो मान्छिन् भनेर लिएँ । तर मैले वालेट बोक्ने गरेकै छैन । पैसा लुज नै लिएर हिँड्छु । म घडी लगाउँदिनँ । मोबाइल बोकेको भोलिपल्टै घडी लगाउन छाडेँ । सिक्री र आंैठी पनि लगाउँदिनँ । ब्याग र छाता बोकेर हिँड्दिनँ । तुना भएको जुत्ता लगाउँदिनँ । आफूलाई फ्रि छाडिदिने हो । झन्झटिला कुरामा किन अल्झिने ?

फेसबुक-टि्वटर पनि चलाउनुहुन्न नि ?

हो, चलाउँदिनँ । अहिलेसम्म फेसबुक र टि्वटरमा अकाउन्ट खोलेको पनि छैन । त्यहाँभित्र पसेर गतिलो चिन्तन मनन गर्न सकिन्छ भन्ने मलाई लाग्दैन । मलाई टाइमपासकै निम्ति केही गर्नु छैन ।

तपाईं धेरै व्यक्तिसँग घुलमिल हुनुहुन्न र एकलकाँटे स्वभावको हुनुहुन्छ पनि भनिन्छ ?

म औपचारिक कार्यक्रम ०४१ सालदेखि जान छाडेँ । मलाई कसैको पनि भाषण सुन्न मन पर्दैन । ककटेल पार्टीमा पनि जान्न । विवाह-ब्रतबन्ध आफ्नै घरभित्र हुँदा पनि जान्न । यस्ता कार्यक्रममा स्वाङैस्वाङ बेसी हुन्छन् । तर, यसको अर्थ म कतै पनि जान्न र मानिसहरूसँग घुलमिल हुन्न भन्ने होइन । अनौपचारिक कार्यक्रमहरूमा मन मिल्ने व्यक्तिहरू भएको ठाउँमा म जान्छु । मलाई हाइप्रोफाइलमा बस्नु छैन ।

काठमाडौंमा हुँदा तपाईंको दिन कसरी बित्छ ?

म राति ८-९ घन्टा सुत्छु । बिहान ७-८ बजे मात्रै उठ्छु । आधा घन्टा पत्रिका पढ्छु । घरको कौसीमा लगाएका तरकारी तथा फलफूलका बिरुवालाई पानी हाल्दा २ घन्टा बित्छ । त्यसपछि खाना खाएर कि बाहिर निस्कन्छु कि लेखपढ गर्छु । बाहिर निस्कँदा कहिले साथीहरू भेट्छु, त कहिले नर्सरीहरूमा जान्छु । राति १० बजेतिर सुतिसक्छु । राति खासै पढ्दिनँ आजकाल । कहिलेकाहीँ कार्यक्रम हुन्छ, नत्र यसैगरी बित्छ ।

अब बाँकी जिन्दगी पनि यसरी नै बित्ला कि कुनै फरक योजना बनाउनुभएको छ ?

केही वर्षपछि ६० टेक्छु । त्यतिबेला सम्म लेख्ने काम सबै सिध्याएर अरण्य आश्रमतिर लागुँ भन्ने सोच्दै छु । आश्रमको बन्दोबस्त भइसक्यो । घर-परिवारले तानेन भने त्यतै लागिएला ।

 


Viewing all articles
Browse latest Browse all 1390

Trending Articles