Quantcast
Channel: अन्तर्वार्ता – Online Khabar
Viewing all articles
Browse latest Browse all 1403

होम ग्राउण्डको फाइदा उठाउँछौं, फ्यानलाई खुशी पार्छाैं

$
0
0

जगत टमाटा नेपाली क्रिकेट टोलीका प्रमुख प्रशिक्षक हुन् । पुवुदु दसानायकेले नेपाल छाडेपछि टमाटाकै नेतृत्वमा नेपालले विश्व क्रिकेट लिग च्याम्पियनसीप अन्तरगत नामिबियासँग दुई म्याच खेल्दैछ । दुई दशक किकेट प्रशिक्षणमा बिताइसकेका टमाटाले सिनियर टीम हेरेको यो पहिलोपटक हो ।
आसन्न नामिबियासँगको खेल र नेपाली टोलीको तयारीबारे प्रशिक्षक टमाटासँगको कुराकानीः

jagat tamata (4)

तयारी कस्तो भइरहेको छ ?

समग्रमा हाम्रो तयारी राम्रो छ । पहिलो चरणमा हामीसँग ३९ खेलाडीहरु थिए र चार वटा खेल खेलाएर २५ खेलाडी छनोट गर्‍यौं । त्यसको १० दिनपछि चार वैकल्पिकसहित १८ जनाको नाम निकालेका छौं । खेलाडीहरुले कडा मेहनत गरिरहेका छन् । होम ग्राउण्ड छ । खेलाडीहरुले कठीन मिहिनेत गर्दैछन् ।

छनोटमा परेका १८ जनामा केही नयाँ अनुहारलाई पनि समेट्नु भएको रहेछ । त्यसको आधार के हो ?

हाम्रो जुन कन्डिसन छ, त्यस अनुसार खेलाडी छनोट गरिएको हो । हामीले दुई जना स्पिनिर थपेका छौैं । जसमा यू-१९ को सन्दिप लामिछाने र सुशन भारी छन् । मिडिल अर्डर र विकेट किपिङका लागि यू-१९ कै कप्तान राजु रिजाललाई टिममा समावेश गरिएको छ ।

सिनियर टिम लामो समय मैदान बाहिर थियो । अन्तर्राष्ट्रिय म्याच एक्सपोजर पनि भएन भनेर धेरैले प्रश्न गरेका छन् । तपाईँ चाहीँ कत्तिको सन्तुष्ट हुनुहुन्छ ?

हाम्रा सिनियर केटाहरुले नोभेम्बरमा खेलेको हो । त्यसपछि उनीहरु टचमा त छन्, तर लगातार खेल्न पाएका छैनन् । जसका कारण जुन किसिमको लय हुनु पर्ने हो, त्यो छैन । क्रिकेट एशोसिएसनको समस्याका कारण दुई वर्षदेखि राष्ट्रिय क्रिकेट प्रतियोगिता पनि हुन सकेको छैन । तर, उनीहरुले आफूलाई एउटा फ्रेममा राखेका छन् । म १०० प्रतिशत त भन्दैन । तर, अहिले ८५/९० प्रतिशत फ्रेममा आएका छन् ।

त्यो ८५ प्रतिशतले हामी खेल जित्न सक्छौं त ?

हामीसँग अझै २/४ दिन समय छ । यसले बाँकी कभर होला । यो पटक होम ग्राउण्ड हाम्रो एडभान्टेज हो । सिनियर केटाहरुले यहाँ धेरै खेलिसकेका छन् । विकेटले कस्तो खेल्ने हो, फिल्ड कस्तो छ भन्ने सबै थाहा छ । दर्शकको समर्थन पनि हुन्छ । यहाँ हामीले दबाबमा पनि धेरै खेल खेलेका छौं । हाम्रा खेलाडीहरुमा होम ग्राउण्ड भएकाले मैले गर्न सक्छु भन्ने आत्मविश्वास पनि छ । तर, जुन विपक्षी टिम यहाँ आउँदैछ नामिबिया, उनीहरुले त्यत्रो मास नै हेरेको छैन । यो हाम्रो लागि फाइदा हो ।

होम ग्राउण्डको एड्भान्टेज त छ । तर, हाम्रो टिमको बलियो पक्ष के हो ?

विकेटको कण्डिसन अनुसार यहाँ स्लो विकेट छ । र, हामीले त्यही हिसावले खेलाडीहरु छनोट गरेका छौं र हाम्रो स्पिन अट्याक अहिलेसम्म बलियो नै देखिएको छ । त्यसैले टिमको स्ट्रेन्थ भनेको स्पिन अट्याक नै हो ।

स्पिन अट्याकमा तपाईको मुख्य हतियार को हुन् ?

वसन्त रेग्मी र शक्ति गौचन हाम्रो प्रमुख बलर नै भए । तर, कन्डिसन हरेर हामीले एक वा दुई थप स्पिनर पनि खेलाउन सक्छौं । एउटा अलराउण्डर भइहाल्छ, त्यसैले एउटा फास्ट बलर लिएर अरु स्पिनर पनि खेलाउन सकिन्छ ।

नेपाल आउनुअघि नामिबियाले अफगानिस्तानसँग चारदिवसीय क्रिकेट खेल्दैछ । तपाईँको नजरमा नामिबिया कति बलियो छ ?

उनीहरुको अलिकति ब्याटिङ राम्रो छ । पछिल्लोपटक खेल्दा पनि हाम्रो स्कोर कम नै बनेको हो । तर, यो पटक त कन्डिसन हाम्रो फेबरमा छ । उनीहरुले फास्ट ट्रयाकमा खेल्दै आएका हुन् । यहाँ त स्लो ट्र्याक छ । उनीहरुलाई यहाँ आएर क्रिकेट खेल्न त्यति सहज छैन ।

तर, नामिबियाको टिम पनि सन्तुलित नै छ । तेस्रो नम्बरका ब्याट्सम्यान निकै राम्रा थिए । गत वर्ष हर्टअट्याकका कारण उनको निधन भयो । यो पटक वर्गर पनि टिममा छैनन् । चौथो नम्बरका बायाँहाते ब्याट्सम्यान राम्रा छन् । हामीले पहिला खेल्दै आएका दुई तीन जना छैनन् र केही नयाँ फेस आएका छन् । लेग स्पिनर र बायाहाते ब्याट्सम्यान आएका छन् । उनीहरुलाई जित्न हामीले राम्रो क्रिकेट खेल्नुपर्छ ।

हाम्रो चाँही ब्याटिङ भरपर्दो छैन । विशेषगरी ओपनिङ जोडीमा समस्या छ । तपाईं कत्तिको चिन्तित हुनुहुन्छ ?

हाम्रो ब्याटिङ अपेक्षा गरेअनुसार नचल्नुमा कन्डिसनले पनि काम गरेको छ । अर्को भनेको म्याच एक्सपोजर हो । हामीसँग क्रिकेट नै छैन । वर्षभरीमा ४/५ वर्ष खेल खेलेर हामी यहाँसम्म पुगेका छौं । त्यो केटाहरुको मेहनतको फल मात्र हो । तर, यो लेभलमा खेल्न वर्षभरीमा कम्तिमा १००/२०० वटा खेल खेल्न पाउनुपर्छ । त्यसपछि थाहा हुन्छ कि कसको क्षमता के छ र कहाँ खेल्नसक्छ । ५ ब्याट्सम्यानले ५ खेल खेलेको भरमा छनोट गर्न कठीन हुन्छ ।

हामीसँग विकल्पहरु छन्, त्यस आधारमा टिम छनोट गरिएको छ । मलाईँ विश्वास छ हाम्रो ओपनरहरुले यहाँ टिकेर खेल्न सक्छन् ।

jagat tamata (3)

ओपनिङमा कसलाई खेलाउँदै हुनुहुन्छ ?

नरेशले एक साइडबाट ओपनिङ गर्छ । सागर पुन पनि छ । उसलाई अप एन्ड डाउन गर्न सकिन्छ । हामीसँग अझै केही दिन बाँकी छ र रणनीति बनाउँदैछौैं । र, ज्ञानुलाई पनि भनिसकेका छौं कि ओपनिङमा जानु पर्ने हुनसक्छ । मानसिक रुपमा तयार रहनु ।

विश्व क्रिकेट लिग च्याम्पियनसिपमा हामीले दुई चरणको खेल गुमाइसक्यौं । हामी कुन अवस्थामा छौं ?

स्कटल्याण्डसँगको खेलमा ५०/६० रन हुँदा हाम्रो हातमा सात विकेट थियो । तर, पनि हामी हार्‍यौं । पपुवा न्यूगिनीसँगको खेल हाम्रो फेवरमा थियो । तर, पनि जित्न सकेनौं । यो हाम्रो लागि निर्णायक अवसर हो । यसलाई मिस गर्नुहुन्न । यदि हामीले यो दुई वटा खेल जित्न सक्यौं भने खेलाडीहरुको आत्मविश्वास पनि माथि जान्छ । हामीसँग बाँकी खेलका लागि चान्स पनि हुन्छ ।

ब्याटिङतर्फ फिनिसरका रुपमा विनोद भण्डारी, शरद भेषावकर र राजेश पुलामी मगर तपाईसँग हुन् । तर, उनीहरुको प्रदर्शनमा एकरुपता देखिँदैन नि ?

किन फिनिसिङ भइरहेको छैन भनेर हामी केन्द्रीत भएका छौं । जुन प्लेयरले जिम्मेवारी लिनु पर्ने हो, त्यो भएको छ कि छैन भनेर हेरिरहेका छौं । किन हामी ७/८ रन वा २/३ विकेटले हारिरहेका छौं भनेर गृहकार्य गरिरहेका छौं । उनीहरुले राम्रै गरिरहेका छन् । तर, प्रदर्शनमा एकरुपता नदेखिएकै हो । जहाँ पनि खेलकै कुरा आउँछ । एक्सपोजर दिनुस् न उनीहरुको प्रदर्शन नै अर्को हुन्छ । ५ वटा खेल हेरेर के मूल्यांकन गर्नुहुन्छ ? त्यसैले एक्पोजर दिनुपर्छ र घरेलु क्रिकेटको संरचना बनाउनुपर्छ ।

पूर्व प्रशिक्षक पुवुदु दशानायके सल्लाहकार प्रशिक्षकका रुपमा फेरि नेपाल फर्किएका छन् । उनको उपस्थितिले के फरक पर्छ ?

उहाँले ३/४ वर्ष यहाँ बसेर काम गर्नु भएको छ । सबैलाई थाहा छ कि उहाँले कसरी प्रशिक्षण गराउनुुहुन्छ । खेलाडीहरुले पनि उहाँको ट्रेनिङ मन पराउनुछन् । उहाँ फेरि आउँदा ‘बुष्टअप’ भएको छ ।

उहाँले यहाँ आएर राम्रो रिजल्ट दिनु भएको छ । यद्यपि अन्तिममा केही तलमाथि भयो, खेलमा यस्तो भइ नै हाल्छ । तर, केटाहरुको दिमागमा त छ नि उहाँ मेरो वेस्ट कोच हो । उहाँको अनुहार हेर्दा नै ‘बुस्टअप’ हुन्छ । मैले पनि उहाँको अन्डरमा काम गरेको छु । त्यसैले म धेरै त भन्दिँन तर, उहाँ आउँदा ५/१० अतिरिक्त इनर्जी आउँछ आउँछ ।

तर, तपाईँको करियरका लागि पनि यो खेल महत्वपूर्ण छ । पहिलो पटक सिनियर टिम हेर्दै हुनुहुन्छ ?

निश्चय नै । मैले २० वर्ष भयो कोचिङ गरेको । उमेर समूहमा यू-१९ सम्मका धेरै टिम हेरेँ । सहायक प्रशिक्षक भएर सिनियरमा धेरै काम गरेको छु । यो मेरो लागि सुनौलो अवसर पनि हो ।

मेरो सपना पनि थियो कि सिनियर टिम हृयाण्डल गर्न पाउँ । अहिले पाएको छु र त्यही अनुसार प्लानिङ बनाएर कोशिश पनि गरिरहेको छु । केटाहरुले पनि त्यही हिसावको सम्मान दिएका छन् र महेनत गरिरहेका छन् । दिनमा ७/८ घन्टा मेहनत गरिरहेका छन् । खुसी छु कि यो मेरो र टिमका लागि पनि च्यालेन्ज हो र राम्रो गर्छौं भन्ने आश छ ।

अन्तिममा फ्यानहरुलाई के भन्नुहुन्छ ?

फ्यानहरुले सँधै हामीलाई सपोर्ट गर्दै आउनु भएको छ र, हामीले फ्यानहरुका लागि खेल्दै आएका छौं । लास्ट टाइम हामीले हार्दा फ्यानहरु केही निराश हुनुभयो । म के भन्न चाहन्छु कि हामीसँगै तपाईँहरुका लागि खेल्ने छौं । र, हाम्रो क्रिकेट गिरेको छैन । हामी माथि नै छौं र यो पटक तपाईँहरुलाई खुसी पारेर छोड्छौं ।

तस्वीरः श्रीधर पौडेल/अनलाइनखबर 


Viewing all articles
Browse latest Browse all 1403