Quantcast
Channel: अन्तर्वार्ता – Online Khabar
Viewing all articles
Browse latest Browse all 1403

‘प्रदेश कमिटीको अपरिपक्वताले पोखराको मेयर गुमायौं’

$
0
0

१५ जेठ, काठमाडौं । पोखरा महानगरपालिकामा स्थानीय तह निर्वाचनको उम्मेदवारी घोषणासँगै नेकपा एमालेमा सुरु भएको अन्तरिक कलहलाई मतदान चलिरहँदा सार्वजनिक भएका अडियोहरुले थप मलजल गर्‍यो ।

चुनावी परिणाममा एमालेका मेयरका उम्मेदवार कृष्ण थापा नेकपा एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्यसँग झण्डै चार हजार मत अन्तरले पराजित हुँदा उपमेयरमा एमालेकी मञ्जुदेवी गुरुङले त्यति नै मतान्तरले  नेपाली कांग्रेसकी उम्मेदवार कोपिला रानाभाटलई पराजित गरिन् ।

पोखराको मेयरमा देखिएको अन्तर्घात डरलाग्दो भएको स्वयं एमालेका नेताहरु बताउँछन् । कतिपयले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र संगठन विभाग प्रमुख खगराज अधिकारीको प्रतिष्ठाको लडाईंका कारण यो ठाउँमा पुर्‍याएको बताउँछन् । अधिकारी भने त्यसलाई अस्वीकार गर्छन् । भन्छन्, ‘मैले सिफारिस गरेको पनि छैन, कसैलाई किन सिफारिस गरेको भनेको पनि छैन । त्यसकारण अर्को नेतासँग मेरो नाम जोड्नुको अर्थ र औचित्य पनि छैन ।’

बरु जस्ता अडियो बाहिर आए, त्यसले पार्टी विरोधी क्रियाकलापमा लागेकाहरु एमालेमा रहेको देखाएको अधिकारी बताउँछन् । प्रस्तुत छ, एमाले स्थायी कमिटी सदस्य एवं संगठन विभाग प्रमुख अधिकारीसँग अनलाइनखबरकर्मी सइन्द्र राईरघुनाथ बजगाईंले गरेको कुराकानीको सम्पादित अंश :

मौन अवधिमा यति धेरै पैसा बाँडियो । सत्ताको दुरुपयोग भयो । उहाँहरुको योजना त मेयर र उपमेयर नै जिताउने थियो । प्रशासन, खासगरी सीडीओको दुरुपयोग गरियो । सीडीओकै संरक्षणमा मौन अवधिमा दलित र सुकुम्बासी बस्तीमा पैसा बाँडियो ।

पोखरा महानगरमा एमालेले २०७४ मा ल्याएको मत यसपटक यसपटक जोगाउन सकेन । तपाईंहरु अन्तर्घात भएको भन्दै हुनुहुन्छ, यही निष्कर्ष अन्तिम हो ?

छलफल हुन बाँकी छ ।

हारको कारण पत्ता लाग्न सकेको छैन ?

पहिलो कुरा उम्मेदवारी हो । केन्द्रीय सचिवालयले पहिले एउटालाई टिकट दियो, पछि अर्कोलाई । उम्मेदवार नै परिर्वतन गर्नु पर्दा हामी डिफेन्सिभ भइहाल्यौं । दोस्रो, मेयर र उपमेयरदेखि वडा सदस्यसम्मको उम्मेदवारी मिलाउनुपर्ने थियो । जितिरहेको वडामा उम्मेदवारी सही तरिकाले बनाउन सकेनौं । मेयर र वडाध्यक्षमा कलम र रुखमा मत दिएको छ, बाँकी सबै सूर्यमा भोट छ । यो भनेको वडाध्यक्षमा जनताले छोड्न नसक्ने उम्मेदवार उठाउन सकेनौं ।

अर्कोतिर मौन अवधिमा यति धेरै पैसा बाँडियो । सत्ताको दुरुपयोग भयो । उहाँहरुको योजना त मेयर र उपमेयर नै जिताउने थियो । प्रशासन, खासगरी सीडीओको दुरुपयोग गरियो । सीडीओकै संरक्षणमा मौन अवधिमा दलित र सुकुम्बासी वस्तीमा पैसा बाँडियो । धनराजले कम्पनीबाटै चाउचाउभित्र हजार हजारको नोट हालेर पठाए । ईसेवाबाट तीन हजार, पाँच हजार पठाएको छ ।

गणनामा पनि सत्ताको प्रभाव रह्यो । उद्देश्यमूलक ढंगले वडाध्यक्ष हराइएको छ । सत्ताको प्रभावमा परेर गणकहरुले फेरि गन्न मानेको छैन । मुचुल्कामा हाम्रो हस्ताक्षर छैन । निवेदन दिएका छौं, त्यो पनि मानेको छैन ।

धाँधली भनेर आन्तरिक कलहको असर लुकाउन खोज्नुभएको हो ?

कलह जुन रुपको भनिएको छ, त्यो रुपको चाहिँ होइन ।

तपाईं र पृथ्वीसुब्बा गुरुङ बीचको द्वन्द्वको असर थिएन ?

त्यो गलत कुरा हो । म त्यहाँ संलग्न छँदै थिइनँ । पीएस पनि संलग्न हुनुपर्ने होइन, तर पहिलेको इन्चार्ज र मुख्यमन्त्री भएकाले केहीकेही ठाउँमा यी मान्छे हुनुपर्छ भन्नुभयो होला ।

तर महानगर कमिटीको मतदानबाट उम्मेदवार छनोट गर्ने भनेर गरिएको तयारी अन्तिममा किन रोकियो त ?

मैले त त्यसो गरिनँ ।

पार्टी केन्द्रले हस्तक्षेप गर्‍यो भन्छन् नि नेताहरु त ?

हस्तक्षेप होइन, उहाँहरुले नै सबै माथि पठाउन चाहनुभयो ।

म संगठन विभागको प्रमुख हुँ । भूगोलमा नजोडिएको आठवर्ष भयो । प्रतिनिधिसभा सदस्य हुनुबाहेक भूगोलको पार्टी काममा जोडिएको मान्छे होइन । तर अहिले पार्टीले विभागमा भएको मान्छे पनि जहाँ मतदाता नामावली छ, त्यहाँ जाऊ भनेपछि मात्रै गएको हुँ । त्यहाँ कसरी उम्मेदवार छनोट हुन्छ, कसैले सोधेन । तर टिकट नपाउने जतिलाई मैले भनेर व्यापक प्रचार गरियो ।

त्यसो भन्नेमा प्रदेश कमिटीमा रहेका केन्द्रीय सदस्यहरु संलग्न हुनुभयो र अत्यन्तै अस्वस्थ्य काम गर्नुभयो । प्रदेश कमिटीको अपरिपक्वता, काँचोपना र दृष्टिकोणको अभाव देखियो । त्यसले धेरै वडाध्यक्षहरु गुम्ने काम भयो । मेयर गुम्ने काम भयो । अन्तरविरोध बढाइदियो ।

जबकी वडा कमिटीहरुको सिफारिसलाई मुख्य आधार बनाइनुपर्थ्यो । सर्वसम्मत भएको ठाउँ बाहेक यस्तो हस्तक्षेप गरियो कि प्रदेश कमिटीका पदाधिकारी, इन्चार्ज र सहइन्चार्जहरुको अत्यन्तै अपरिपक्व निर्णयले पोखरा महानगरमा भएको चुनौतीहरुको सही विश्लेषण गर्न सक्नुभएन । नेतृत्व क्षमताको अभाव देखियो । जो भएपनि जितिहालिन्छ भनेर अन्डरस्टिमेट गर्नुभयो ।

प्रदेश कमिटी असफल भयो ?

उहाँहरुले दिएको उम्मेदवारीका कारणले धेरैजसो ठाउँमा तलमाथि भयो ।

तर पोखराको नेता …

होइन । तर धेरै समय मैले पोखरामा काम गरेँ । म पहिले पुष्पलाल समूहमा थिएँ । त्यसपछि मालेमा आवद्ध भए । ३६ सालमा पूर्णकालीन भएपछि पार्टी निर्माणमा मेरो पनि योगदान छ । जिरोबाटै योगदान छ ।

टिकट वितरणमा चाहिं तपाईंको संलग्नता छैन भन्दा कसरी विश्वास गर्लान् ?

कुनै संलग्नता छैन । मैले सिफारिस गरेको पनि छैन, कसैलाई किन सिफारिस गरेको भनेर भनेको पनि छैन । जो भएपनि सूर्य चिह्न लिएपछि म खुरुखुरु पार्टीको आधिकारिक मान्छेको पक्षमा हिडेँ । त्यसकारण अर्को नेतासँग मेरो नाम जोड्नुको अर्थ छैन, औचित्य पनि छैन ।

र, जस्ता अडियो बाहिर आए । ती भाइ, जो नेताहरुसँग नजिक थिए । त्यसले नेताहरुको छविमा क्षय भयो । अत्यन्तै अपरिपक्व लापरबाही भयो ।

पार्टी विरोधी अपराधपूर्ण क्रियाकलापमा लागेको बाहिर आयो, तिनीहरु पार्टीमा रहन योग्य होइनन् । जो मेरो समेत नाम लिएर सिध्याउने भनेर लागेका छन्, मेयर सिध्याउने भनेर लागेका छन्, त्यस्तो अपराधी मान्छे एमालेको कार्यालयमा नहुनुपर्ने हो । तर गुँडमै बसिरहेको अहिले पनि देख्न सकिन्छ । अपराधी दस्ताले सीआईडीको रुपमा हाम्रो कुरा उता लाने काम गरेकै हो । भोट त मनोज भन्ने केटाले जेजे भनेका छन्, त्यो कुरा मिल्दोजुल्दो नै छ ।

एमाले हराउन एमाले नै काफी भयो ?

एमाले होइन, एमालेको सूचना लैजाने सीआईडी र गुप्तचरका रुपमा पालिएका पाल्तुहरुले गरेका हुन् ।

विवाद देखियो, मत बेच्ने बार्गेनिङका अडियो सुनियो । चुनाव हारिसक्नुभयो । कथा सकियो ?

कथातिर लाग्ने कुरा छैन । पार्टी बनाउनेतिर लाग्नुपर्छ । त्यस्ता आवाराहरुको पछि लागेर काम छैन, पार्टी बनाउने हो ।

चुनावी पराजयको समीक्षा पनि हुँदैन ?

गर्ला नि सम्बन्धित कमिटीले । टोलटोलबाट गर्लान् नि !

पोखरामा त दुई पटक उम्मेदवार तय भयो । समस्या त त्यहीबाट सुरु भयो नि ! पहिलोपटक उम्मेदवार तय भएपछि त्यसैमा गएको भए हुन्थ्यो ।

तपाईंको निर्वाचन क्षेत्र पनि हो, त्यहाँ । आउने चुनावमा पनि यसले त असर गर्ला नि ?

पोखरा र कास्की जिल्लामा विपक्षी कसरी जाँदैछन् भन्ने सही मूल्यांकन गरेर रणनीति योजना बनाउने सामर्थ्य भएन । जिल्ला कमिटीको केही न केही कमजोरी देखियो । प्रदेश कमिटीको अपरिपक्वता देखियो ।

स्थानीय चुनावको पहिलो प्राथमिकता पोखरा महानगरपालिका हो । उहाँहरु कसैको पनि ध्यान त्यहाँ देखिएन । प्रदेशको इन्चार्ज धेरैजसो स्याङ्जा केन्द्रित हुनुभयो । अध्यक्ष औपचारिक निर्णय गर्ने अनि, म्याग्दी जाने । उपाध्यक्ष स्याङ्जा, सचिव लमजुङ जानुभयो । उपसचिवहरु केहीकेहीले खेलोफड्कोमा सामर्थ्य लगाउनुभयो ।

प्रदेश कमिटी काम नलाग्ने भयो ?

योजना बनाएर पोखरा केन्द्रित भएको देखिएन ।

टिकट वितरणमा प्रतिस्पर्धा भइरहँदा खास जित (मेयर पद) चाहिँ खुस्कियो भन्ने टिप्पणी पनि छ नि ?

पार्टी निर्माणमा कहिल्यै योगदान नगरेका, फोटो खिचाएर फेसबुकमा नेताहरुको नजिक भयौं भन्ने जस्ता सतही टिप्पणी गर्नेहरुको कुरा हो यो । उम्मेदवार तय हुनासाथ जितिन्छ ? पोखरामा त दुई पटक उम्मेदवार तय भयो । समस्या त त्यहीबाट सुरु भयो नि ! पहिलोपटक उम्मेदवार तय भएपछि त्यसैमा गएको भए हुन्थ्यो । फेरि म सिफारिस गर्ने ठाउँमा पनि छैन, निर्णय गर्ने ठाउँमा पनि छैन । प्रदेश कमिटीमा पनि छैन, सचिवालयमा पनि छैन ।

पार्टी केन्द्रीय अध्यक्षलाई टिकट बाँड्ने अधिकार दिनुभएको थियो । त्यो अधिकार प्रयोग गरेरै टिकट बाँडेपछि समस्या नहुनुपर्ने होइन ?

अध्यक्षले होइन, सचिवालयले बाँडेको हो टिकट । सचिवालयमा सोध्नुहोस् न, क–कसले सिफारिस गरेको भनेर ।

पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल नभएपछि एमाले एकताबद्ध छ भन्ने कुरा चाहिँ पोखरामा खण्डित भयो ?

पोखराले होइन । ज्यान यहाँ, मन अन्तै भएको अझै पनि छ नि ! तपाईं जानि हाल्नुहुन्छ, मलाई नाम भन्न नलगाउनुहोस् ।

दश बुँदे गरेर एमालेमै बसेकाहरू ?

दश बुँदेका इमान्दार साथीहरु पनि छन् पार्टीमा । इमान्दारपूर्वक लागेका पनि छन् । तर ज्यान यहाँ, मन अन्तै रहेकाहरु र तिनलाई प्राथमिकता दिनुपर्छ भन्ने नेतृत्वमा पुगेका पदाधिकारी साथीहरुको गलत दृष्टिकोणले गर्दा यस्तो प्रवृत्तिलाई मलजल भएको छ । यस्तो प्रवृत्ति पार्टीमा रहन सक्दैन ।

पार्टी विभाजन हुँदा एमालेमै बस्ने, तर धनराज आचार्यलाई मत हाल्नेहरुकै कारणले एमाले पराजित भयो भन्ने हो ?

त्यसरी नै त मत गएको होइन । तर केही मान्छेहरुलाई यस्ता भेटिए, जसले हाम्रो रणनीति धनराजका लागि पुर्‍याइदिए । र, ती मान्छेलाई कारबाही गरिनुको सट्टा गुँड बनाएर राख्ने काम भएको छ । त्यो नियत भन्दा पनि नबुझेर हो ।

अध्यक्ष केपी शर्मा ओलीले पनि एमालेमा अन्तर्घात भयो भन्नुभएको थियो । तन एमालेमा, मन अन्तै भएकाहरुलाई भन्नुभएको हो ?

त्यो कोणबाट नहेरौं । यो ठूलो शक्ति पनि होइन र निर्णायक पनि होइन । तर कहिलेकाहीँ खेसा हाल्न त्यसैले पनि काम गरिरहेको हुन्छ । कहीँकहीँ त गम्भीर अपराधिक अन्तर्घात पनि देखिएको छ । त्यस्तो कल्पना गरिएको थिएन ।

अहिले पनि लोकप्रिय मतको हिसाबले हामी जेठो दल हौं । व्यवस्थापकीय कमजोरी भएको त त्यसै देखिन्छ नि ।

पार्टी एकताबद्ध नहुँदा र विभाजन भएकाले पराजित हुनुपरेको तथ्य जताजतै देखिन्छ । फेरि निष्कर्ष चाहिँ सत्ताको धाँधली भन्न मिल्छ ?

धाँधलीको त उदाहरण नै दिइसकेँ नि !

पोखरामै एमालेको मेयर उम्मेदवार हराउने, अनि उपमेयरलाई चाहिँ जिताइदिने कस्तो धाँधली भयो त ?

उहाँहरु कहाँ केन्द्रित हुनुभयो भन्ने कुरा हो । उहाँहरु मेयरमा केन्द्रित हुनुभयो । उनीहरु मेयरमा मात्रै केन्द्रित हुनसक्छन् भनेर हाम्रो रणनीति बनाउनेले सोच्न सक्नुपर्‍यो नि ! त्यसो हुँदा त मेयर पनि सहजै जित्थ्यौं । उपमेयरले ल्याएकै मत हाम्रो हो भन्ने त्यसै प्रमाणित हुन्छ नि !

कांग्रेसलाई त हरायौं, तर फुच्चे पार्टी भनेकाले कांग्रेस र माओवादीलाई एकताबद्ध राख्न सफल भयो । र हाम्रो मतलाई पनि प्रभावित बनाएको देखियो ।

पोखरा बाहेकको कुरा गर्दा महानगर र उपमहानगरको बहुमत उपमेयर एमालेले जित्यो । २०० बढी स्थानीय तह जितेको छ । जितेको ठाउँमा चाहिँ धाँधली भएको हो कि होइन ?

धाँधलीको बाबजुत पनि जितेको हो ।

मुलुक र लोकतन्त्रसँग जोडिएको पार्टी एमाले कतै पराजयले लर्बराएको त होइन ?

केही धर्मर छैन । कहिलेकाहीँ सेटब्याक खान पनि सकिन्छ नि ! माधव नेपालले पार्टीलाई तेस्रो बनाए । तर पनि हामीले एमालेलाई पहिलो पार्टी बनायौं । केपी ओलीले छँदाखाँदाको दुई तिहाइ गुमायो भन्ने भ्रम नपाल्नुहोस् । कहाँ थियो, दुई तिहाइ ? एमालेको १२१ थियो, त्यो पनि समानुपातिक जोडेर । बहुमत एमालेको थिएन ।

तर बहुमत हुँदाहुँदै पनि त संसद विघटन गरेर तपाईंहरु आफैंले छोड्नुभयो नि त ?

विघटन गरेर भन्दा पनि संविधान नै संशोधन गरिदियो अदालतले । अब त चेत खुल्यो होला नि ? निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणबारे निर्णय गर्ने कार्यपालिकाको काम हो कि न्यायपालिकाको ? कार्यपालिकाले अर्बौ खर्च गरिसक्यो । नबनाउनू भनिदियो अदालतले । एउटा कारण पनि पो भन्नुपर्‍यो, पर्यावरणमा गम्भीर असर पर्ने ।

अदालतकै कुरा गर्दा त तपाईंहरु आफैंले पनि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई संवैधानिक निकायमा भागवण्डा दिएर आफू अनुकुल बनाउने प्रयास गरेको होइन ?

यस्तो प्रश्न गर्नु तपाईंलाई अलिकति हिनताबोध हुनुपर्ने हो । गजेन्द्र हमाललाई हामीले मन्त्री बनाएको हो ? संवैधानिक परिषदको सदस्य भएपछि आफ्नो आर्गुमेन्ट राख्दैन ? कार्यपालिकामै त्यो त कांग्रेसको कोटा हो भन्ने प्रचण्ड र माधव नेपालले होइन ? केपी ओलीले त मान्नुभएको थिएन ।

गैरसांसद मन्त्री हुनुहुँदैन भन्ने गोविन्द बन्दी अहिले के हुनुभएको छ ? यस्ता अनैतिक मान्छेले नै संविधान मिच्ने र कमजोर बनाउने काम गरे । विकृति र प्रतिगमनका स्रोत नै तिनी हुन् । अदालतलाई निजगढ एअरपोर्ट बनाउन हुन्न भन्ने ठाउँमा पुर्‍याउन नै तिनी हुन् । जहिले पनि कांग्रेसको नेतृत्वमा यस्तो भइरहेको छ, चाहे सुशीला कार्की होओस्, चाहे चोलेन्द्र शमशेर होओस् ।

चोलेन्द्र शमशेर जबराविरुद्धको महाअभियोग प्रस्ताव अगाडि बढाउने कुरा सुनिएको छ । एमालेले के गर्छ ?

त्यो विषय आएपछि भनौंला । किनभने कोही पनि दुधले नुहाएका छैनन्, सबै मिलेर संविधान मिचेका हुन् ।

तर परमादेश दिने, मन्त्री भागबण्डामा माग्ने चोलेन्द्र शमशेर जबरालाई हटाउने एजेण्डा त तपाईंहरुको पनि हुनुपर्ने होइन र ?

हामीसँग सोधेर गरेको हो र ? उनीहरुले चोलेन्द्रलाई हटाउने ल्याएकै (महाअभियोग) होइन । हटाउन ल्याएको हो भने त हामीसँग सल्लाह गरेर ल्याउनुपर्ने हो । उनीहरुको स्वार्थ पूरा गर्न एमाले हिंड्दैन ।

अन्त्यमा, फेरि वाम गठबन्धन गर्ने चर्चा पनि सुनिन्छ । कति सम्भव हो ?

अहिले दाम गठबन्धन छ । वाम गठबन्धन हुनुलाई त वाम हुनुपर्‍यो नि !


Viewing all articles
Browse latest Browse all 1403

Trending Articles