Quantcast
Channel: अन्तर्वार्ता – Online Khabar
Viewing all articles
Browse latest Browse all 1400

यस्ता व्यक्तिलाई कारवाही गर्नैपर्छ

$
0
0

६ पुस, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली कम्युनिस्ट पार्टीको अध्यक्ष वा केन्द्रीय कमिटीमा बस्न लायक नभएको भन्दै यस्ता व्यक्तिलाई पार्टीले कारबाही गर्नैपर्ने बताएका छन् ।

प्रधानमन्त्री ओलीले संसद विघटन गरेर असंवैधानिक कदम चालेको अनि अध्यादेश ल्याउँदिनँ भने झूटो बोलेको बताउँदै नेता नेपालले प्रश्न गरे, ‘वास्तवमा प्रश्न खडा हुन्छ, उहाँ पार्टी सदस्यका लागि लायक हो त ?’

पूर्वप्रधानमन्त्री एवं नेकपा नेता नेपालले कोही व्यक्तिले पार्टी छाडेर जाँदैमा नेकपा नफुट्ने दाबी गरे । ओलीमाथि कारबाही भए पनि पार्टी एकता यथावतै रहने उनले बताए । उनले केपी ओलीलाई लक्षित गर्दै भने, ‘पार्टी छोडेर हिँड्नुभयो भने उहाँको कुरा भो । कुनै पनि व्यक्ति कुनै पनि पार्टी नबस्न सक्छ, त्यो कुन ठूलो कुरा भयो र ?’

आगामी मध्यावधि चुनावमा पार्टी एकढिक्का भएरै जाला त भन्ने पश्नमा उनले चुनाव नहुने बरू संसद पुनर्स्थापना हुने बताए । अनलाइनखबरसँगको विशेष कुराकानीमा नेता नेपालले भने, ‘चुनावको प्रश्नै छैन, संसदको पुनर्स्थापना हुन्छ ।’

प्रस्तुत छ नेता नेपालसँग अनलाइनखबरले गरेको कुराकानी-

प्रधानमन्त्री ओलीले यसरी संसद विघटन गर्नुहोला जस्तो तपाईंलाई लागेको थियो कि थिएन ?

गर्नुहुन्न भन्ने पनि थियो, गर्न पनि सक्नुहुन्छ भन्ने पनि लाग्थ्यो । तर मानसिक रूपमा चाहिँ म तयार थिएँ । उहाँले यस्तो कदम चाल्न सक्नुहुन्छ, किनभने मान्छेले जब बुद्धि गुमाउँछ, जब विवेक गुमाउँछ, जुनसुकै पनि कदम चाल्न सक्छ । जुनसुकै पनि कदम चाल्न सक्ने मान्छे भनेर मनमा कताकता लागिरहेको थियो । तर, पनि यस्तो नहोला कि, उहाँसँग जोडिएका कतिपय साथीहरुले भूमिका खेल्नुहोला कि, उहाँलाई सत्मार्गमा ल्याउन प्रयास गर्नुहोला कि भन्ने पनि झिनो आशा पनि बाँकी थियो ।

राष्ट्रपतिसँग केही आशा थियो कि ?

राष्ट्रपतिज्यूले पनि यसबारेमा गलत कदमलाई साथ नदिनु होला । संविधानको पक्षमा उभिनुहोला । गणतन्त्रको मूल्य र मान्यता हो, यसलाई जोगाउनका लागि पनि विचार गर्नुहोला । गणतन्त्रमाथि अनेक किसिमको गतिविधि चलिरहेको छ, यस्तोबेलामा उहाँबाट यस्तो कदमको मैले त आशा गरेको थिइनँ ।

अब प्रधानमन्त्रीले संसद विघटन गरेर मध्यावधि निर्वाचनको मिति घोषणा गरिसक्नुभएको छ । नेकपा स्थायी कमिटीले उहाँमाथि अनुशासनको कारबाही गर्ने निर्णय पनि गरिसकेको छ । अब हुन्छ ? नेकपा फुट्छ ?

यो असंवैधानिक र निरङ्कुश कदम हो । उहाँ (केपी शर्मा ओली) को यो निर्णय पार्टी पद्धतिको विरुद्धमा पनि छ । पार्टीको नेताका हैसियतले उहाँले पार्टीको पनि विश्वास गुमाइसक्नु भएको छ । दलको विश्वास पनि गुमाइसक्नुभएको छ । दलमा उहाँको बहुमत छैन । संसदीय दलमा पनि उहाँको बहुमत छैन । प्रतिनिधिसभाका सदस्यहरूमध्ये पनि ९० जना उहाँको विपक्षमा उभिइसकेका छन् ।

अझ दुईजना मन्त्रीहरू (घनश्याम भुसाल र योगेश भट्टराई) अनि रघुबीर महासेठलाई पनि जोड्ने हो भने अहिलेको संख्या ९५ पुगिसकेको छ । उहाँ अत्यन्तै अल्पमतमा पुगिसकेको व्यक्तिले संसद विघटन गर्नु यसै पनि गलत हो । विघटन गर्ने संवैधानिक अधिकार संविधानले दिएको छैन । अल्पमतमा पुगेको मान्छेले गर्ने त प्रश्नै उठ्दैन ।

उहाँले आफू अल्पमतमा पुगेको तथ्यलाई लुकाएर जसरी राष्ट्रलाई नै संकटमा पुर्‍याउनुभयो, लोकतन्त्रलाई नै धरापमा पार्ने काम गर्नुभयो । गणतन्त्रविरोधी शक्तिहरू उठिरहेका बेलामा गणतन्त्रप्रति वितृष्णा गर्ने पैदा गर्ने ढंगबाट उहाँका कदमहरू जसरी देखिए । यसबाट के बुझिन्छ भने कमरेड केपी ओलीमा यो देश, लोकतन्त्र र गणतन्त्रप्रति कुनै माया छैन ।

राजनीतिक स्थायित्व भन्ने कुरा व्यक्तिले हुँदैन । नेकपाको सरकार छँदै थियो, बहुमतको सरकार नै थियो। पार्टीले उहाँलाई प्रधानमन्त्रीबाट हट पनि भनिसकेको थिएन । पार्टीको छलफलको विषय नै बनेको थिएन ।

त्यस्तो अवस्थामा उहाँ जुन हिसाबले उत्रिनुभएको छ, त्यसले उहाँमा सर्वसत्तावादी सोच देखा परेको देखिन्छ । उहाँको बारेमा कसैले आलोचना गर्न नपाउने, उहाँले विधि पद्धतिमा बस्नुपर्छ भन्न पनि कसैले नपाउने, उहाँले विधि र पद्धतिको पालना पनि गर्नु नपर्ने, उहाँका सबै तरिका र रबैया हेर्दाखेरि उहाँबाट मुलुक र संविधानअनुसार अघि बढ्न नसक्ने अवस्था प्रष्ट भइसकेको छ ।

आइतबारको स्थायी कमिटी बैठकले प्रधानमन्त्रीलाई अनुशासनको कारबाही गर्न केन्द्रीय कमिटीलाई सिफारिस गर्ने निर्णय गरेको छ, उहाँले आत्मालोचना गरेर सच्चिने ठाउँ छैन ?

उहाँले संसद विघटनको कदम चालिसकेपछि झूटो बोलेर अर्का कार्यकारी अध्यक्षलाई पछिसम्म पनि अल्मल्याइरहनुभयो । स्थायी कमिटीको बैठकमा उहाँले के भन्नुभएको थियो भने संवैधानिक परिषद्मा कुनै पनि नियुक्ति गरिएको छैन । कति ढाट्नुहुँदो रहेछ भन्ने त बैठकमा उहाँको प्रस्तुतिबाट थाहा हुन्छ । त्यो बैठकमा अध्यादेश (संवैधानिक परिषद्सम्बन्धी) फिर्ता लिने, जुन सर्वसम्मतिले निर्णय भएको थियो, त्यो फिर्ता नलिएर निर्णयको ठाडो उल्लङ्घन गर्ने तहमा पुग्नुले उहाँको प्रवृत्ति प्रष्ट हुन्छ । पार्टीको बैठक मान्दिनँ, निर्णय स्वीकार गर्दिनँ भनेर सार्वजनिक अभिव्यक्ति दिन गर्नुहुन्छ । प्रत्येक भेटघाटमा उहाँ कति निरङ्कुश पाराले चल्न चाहनुहन्छ भन्ने कुरा प्रष्ट हुन्छ।

स्वाभाविक रूपले यस्ता व्यक्तिलाई पार्टीले कारबाही गर्नैपर्छ । पार्टीको स्थायी कमिटीले सिफारिस गरिसकेको छ, केन्द्रीय कमिटीले उहाँलाई कुन-कुन पदबाट कारबाही गर्ने हो । अध्यक्षमा बस्ने नैतिक अधिकार गुमाइसक्नुभयो । केन्द्रीय कमिटी बैठकमा बस्न लायक पनि हुनुहुँदो रहेनछ । वास्तवमा प्रश्न खडा हुन्छ, उहाँ पार्टी सदस्यका लागि लायक हो त ? एउटा कम्युनिस्ट पार्टीको सदस्यले अनुशासनको पालना गर्नुपर्छ । पार्टीको विधानको मातहतमा रहनुपर्छ । पार्टीको निर्णयलाई सर्वोपरी ठान्नुपर्छ र लोकतन्त्र, गणतन्त्रको पक्षमा, लोकतान्त्रिक आचरण र विधिमा उभिनुपर्छ भन्ने मान्यतामा पनि उहाँले कुल्चिनुभएकोले उहाँले कम्युनिस्ट पार्टीको सदस्य मात्रै होइन, लोकतान्त्रिक चेत समेत गुमाउनुभएको छ ।

ओलीलाई कारबाही गर्दा उहाँले पार्टी फुटाएर अर्को पार्टी गठन गर्नुभयो भने ?

पार्टी छोडेर हिँड्नुभयो भने उहाँको कुरा भो । कुनै पनि व्यक्ति कुनै पनि पार्टी नबस्न सक्छ, त्यो कुन ठूलो कुरा भयो र ? अर्काको पार्टीमा बस्छु भन्छ भने त्यो पनि ठूलो कुरा भएन । तर, उहाँ कम्युनिस्ट पार्टीको विरोधी हुनुहुँदोरहेछ भन्ने कुरा प्रष्ट भयो । नेकपाको पक्षपोषक होइन ।

मार्क्सवाद र लेनिनवादको मूल्य र मान्यताप्रति प्रतिबद्ध हुने कुरा त पर उहाँ त जनताको मतको कदर गर्ने मान्छे समेत हुनुहुँदो रहेनछ भन्ने प्रष्ट भयो । कम्युनिस्ट पार्टीप्रति जनताको अपार श्रद्धा र आस्थाको सम्मान गर्नुभएन भन्ने प्रष्ट भयो । उहाँ ढाँटछलमा विश्वास गर्नुहुँदो रहेछ । पार्टी पद्धतिलाई उल्लङ्घन गर्नु हुँदोरहेछ । उहाँलाई आफ्नो प्रधानमन्त्रीको पद वा कुनै पनि ओगटेको पद भन्दा ठूलो केही पनि लाग्दो रहेनछ । आफू रहिन भने कुर्सी भाँचिदिन्छु भन्ने मान्यता रहेको देखिन्छ ।

पहिले के हुन्थ्यो भने आन्दोलन र पार्टीका लागि  बलिदान दिन तयार हुन्थ्यौं । अहिले उहाँ आफ्नो निम्ति पार्टी र आन्दोलनलाई बलिदान दिन तयार हुनुभएको देखियो । भनेपछि पार्टी बलिदान गर्न सक्ने मान्छेले देश र जनताको हितमा कुठाराघात गर्नुहुन्न भन्न सकिँदैन ।

अब उहाँ (ओली) ले पूर्वएमालेलाई ब्युँताउने सम्भावना कति देख्नुहुन्छ ?

विघटित भइसकेको पार्टी ब्युँतिने कुनै सम्भावना नै हुँदैन । त्यसोभए त्योभन्दा पहिलेको मालेलाई ब्युँताइदिए के हुन्छ ? त्योभन्दा पहिले कोर्डिनेसन केन्द्रलाई ब्युँताइदिए के होला ? त्योभन्दा पहिले झापा जिल्ला कमिटीलाई ब्युँताइदिए के होला भन्नुहोला । त्यसको कुनै अर्थ छैन ।

भनेपछि तपाईंको विचारमा अझै नेकपा पार्टी एक ढिक्का रहन्छ ?

पार्टी एकढिक्का रहन्छ । पार्टी र आन्दोलन अगाडि बढ्छ ।

चुनाव त घोषणा भइसक्यो । अब यो चुनावमा पार्टी फुटेर जान्छ कि….

होइन, चुनावको प्रश्नै छैन । संसदको पुनर्स्थापना हुन्छ । त्यो निर्णय नै बदर हुनुपर्छ । मलाई विश्वास छ- हाम्रो सर्वोच्च अदालत संविधानको सही व्याख्या गर्ने जिम्मेवारी पनि पाएको छ र गलत कदमलाई रोक्ने महत्वपूर्ण भूमिका पनि उसकै काँधमा छ । त्यसले सही निर्णय गर्नेछ । रीट पनि दर्ता भइसकेको छ । संसदभित्रका समीकरणको जानकारी पनि भइसकेको छ । प्रतिनिधिसभाको विघटन हुनुभन्दा पहिले नै अविश्वास प्रस्ताव दर्ता गरिसकेका छौं । संसद सचिवालयका महासचिवको हातमा त्यो कागज पुगिसकेको छ ।

त्योभन्दा पहिले नै प्रतिनिधिसभाको ८३ जनाको (मन्त्रीबाहेकको) हस्ताक्षरको कागज नै राष्ट्रपतिको हातमा छ । भनेपछि के प्रष्ट छ भने संसदीय दलमा पनि उहाँको विपक्षमा बहुमत छ । सिंगो संसदभित्र पनि (प्रतिनिधिसभा र राष्ट्रियसभामा) उहाँको विपक्षमा बहुमत छ । त्यसो हुनाले अल्पमतमा परिसकेको मान्छेलाई विघटन गर्ने, कुनै पनि हकमा निर्णय गर्ने परिस्थिति नै बन्दैन । संविधानले पनि त्यस्तो अनुमति दिएको छैन ।

यसको अर्थ मुलुक मध्यावधि निर्वाचन र राजनीतिक अस्थिरताको भूमरीमा पर्दैन भन्ने तपाईंको निष्कर्ष हो ?

मलाई विश्वास छ, सर्वोच्च अदालतबाट न्यायिक फैसला हुनेछ । संवैधानिक इजलासबाट न्यायिक फैसला हुनेछ र गलत कदमका विरुद्ध उभिनका लागि र आफ्नो स्वतन्त्र संवैधानिक दायित्व बोकेको त्यो अंग, नियन्त्रण र सन्तुलन बोकेको अंगले सही फैसला गर्नेछ ।

तर अदालतबाट त्यस्तो फैसला आएन भने त निर्वाचनमा जानुपर्ने होला नि त ?

मलाई लाग्छ, अदालतबाट सही फैसला हुनेछ । संसद विघटनसम्बन्धी प्रधानमन्त्रीले चालेको कदमलाई बर्खास्त गरिदिने छ ।

प्रधानमन्त्री ओली संसद विघटन गर्ने अवस्थामा पुग्नुमा प्रचण्ड र माधव नेपालले कामै गर्न नदिएकाले हो भन्ने तपाईंहरूमाथि आरोप छ नि ?

त्यो कुरा बैठकमा ल्याए हुँदैन ? काम गर्न दियो वा दिएन भन्ने कुराका निम्ति बहस गर्ने ठाउँ कमिटी होइन ? कमिटीमा बहस गरे हुँदैन ? त्यो फैसला कमिटीलाई गर्न दिए हुँदैन ? कमिटीको बहुमतले एउटा कुरा भनिरहेको छ, त्यो कुरा मान्नलाई प्रत्येक व्यक्ति बाध्य हुनु पर्दैन ? बहुमतमा विश्वास छैन ? अनि लोकतन्त्रको कुरा गर्न सुहाउँछ ?

लोकतन्त्र र लोकतान्त्रिक आचरण बोकेका मान्छेले बहुमतको फैसला मान्नु पर्छ । बहुमतको फैसला र निर्णय नमानेर एकल पाराले चल्ने प्रवृत्ति लोकतान्त्रिक हुन सक्छ ? अधिनायक प्रवृत्ति हुन्छ । उहाँ (ओली) मा व्यक्तिवाद छ, निरङ्कुश प्रवृत्ति छ, एकाधिकारवादी प्रवृत्ति छ र सानो गुटको घेरामा थोरै मान्छेहरूको घेराभित्र आफूलाई कैद गर्नुभएको छ । उहाँले सिंगो समाज देख्नुहुन्न ।

देशको बारेमा उहाँलाई मतलब छैन, सिंगो पार्टीसँग मतलब छैन, उहाँलाई सिस्टम बसाल्ने कुरासँग कुनै मतलब छैन । उहाँ आई एम द स्टेट, आई एम द पार्टी भन्ने गलत प्रवृत्ति बोकेर हिँड्नुभएको छ । यसअर्थमा उहाँ डेमोक्रेसीका लागि ठूलो समस्याका रूपमा देखापर्नुभएको छ ।

आम कार्यकर्ता, जो नेकपा एकीकरणपछि खुशी बनेका थिए । अहिले निराश भएका छन् । उनीहरूलाई तपाईं के अपिल गर्नुहुन्छ ?

म भन्न चाहन्छु, पार्टी कार्यकर्तालाई पार्टीभित्र यस्ता प्रवृत्ति बोकेका मान्छेहरु नेतृत्व तहमा पनि पुग्दा रहेछन् । रुसको पार्टीमा गोर्वाचोभ र येल्तसिन जस्ता मान्छेहरू पुगेका थिए, जसले कम्युनिस्ट आन्दोलनलाई सिध्याइदिए । कम्युनिस्ट पार्टी नै विघटन गरिदिए । चीनको कम्युनिस्ट पार्टीमा पनि लिन पियाओ प्रवृत्ति बोकेका मान्छेहरू नेतृत्व तहमा पुगेका थिए । उनीहरूको हातमा नेतृत्वको बागडोर पुगेको भए त्यो चिनियाँ कम्युनिस्ट पार्टी पनि सिद्धिन्थ्यो । तर त्यहाँका नेताहरूले बुद्धि पुर्‍याए । माओत्सेतुङले बुद्धि पुर्‍याउनुभयो । तेङ स्याओपिङले बुद्धि पुर्‍याउनुभयो । त्यस्ता व्यक्तिहरूको पहिचान गर्नुभयो । त्यसैको प्रभावले पार्टी र आन्दोलन जोगियो । तर त्यही कुरा रुसको हकमा देखिएन ।

त्यसो हुनाले यस्ता गलत प्रवृत्ति बोकेका मानिसहरुबाट पार्टी र आन्दोलन जोगिँदैन । यस्ता प्रवृत्तिका विरुद्धमा लड्ने अभियानमा दृढताका साथ उभिनुहोस् ।

व्यक्तिहरु आउँछन्, जान्छन् । पार्टी र आन्दोलन रहिरहन्छ । पार्टी र आन्दोलनका निम्ति हामी जुटेका छौं । त्यसैका लागि नेकपामा आबद्ध भएका छौं । तसर्थ, पार्टी र आन्दोलन जोगाउनका लागि हिम्मत नहारिकन दृढतापूर्वक, उच्च मनोबल बोकेर, गलत प्रवृत्तिलाई परास्त गर्छु भन्ने संकल्प बोकेर अगाडि बढ्नुहोस् । किनभने संघर्ष नै जीवन हो । जीवन नै संघर्ष हो । पार्टीभित्र पनि गलत विचारको बीचमा संघर्ष गरेर नै त्यसलाई पराजित गरेर नै सही विचारलाई स्थापित गर्न सकिन्छ ।

त्यस्ता गलत विचारको पक्षपोषकहरु जोसुकै किन नहोऊन्, हामीले माया गरेकै किन नहोऊन्, त्यस्ता गलत प्रवृत्तिको पक्षमा नजानुहोस् । व्यक्तिका लागि पार्टीलाई बलिदान नगर्नुहोस् । व्यक्तिहरू हुन्छन्, पात्रहरू सुपात्र भइदिए हुन्थ्यो भन्ने चाहनाहरू हुन्छन् । तर त्यस्ता तत्वहरूको पक्षमा लाग्नुपर्ने कुनै आवश्यकता छैन ।

निष्कर्षमा भन्दा अब केपी ओलीमाथि अनुशासनको कारबाही हुन्छ । तर पार्टी फुट्दैन, एक भएर जान्छ भन्ने तपाईंको दाबी हो ?

पार्टी फुट्दैन, पार्टी एक ढिक्का हुन्छ, कोही मान्छे जान्छ भने चोइटिएर जान्छन् । त्यस्ता व्यक्तिका पछाडि कोही व्यक्ति सति जान हुँदैनन र सति हुने मान्छेलाई ‘भिरमा लड्ने गोरुलाई रामराम भन्न सकिन्छ, काँध थाप्न सकिँदैन ।’

तस्वीर/भिडियो : शंकर गिरी


Viewing all articles
Browse latest Browse all 1400

Trending Articles