Quantcast
Viewing all articles
Browse latest Browse all 1403

‘प्रधानमन्त्री पदको लोभमा माओवादीसँग एकता हुँदैन’

दशौं राष्ट्रिय महाधिवेशनपछि पार्टी संरचनालाई पूर्णता दिनै बाँकी रहेको एकीकृत समाजवादीसँग माओवादी केन्द्रले एकता प्रस्ताव राखेको चर्चा केही दिन यता चलिरहेको छ । लगातार भेटवार्ता गरिरहेका माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टी एकताको चर्चाबारे केही बताएका छैनन् । यो मौनताकै बीच माधव नेपाललाई दलको नेता र प्रधानमन्त्री बन्न प्रचण्डले गरेको प्रस्ताव सार्वजनिक भएको छ ।

एकीकृत समाजवादीका महासचिव घनश्याम भूसाल भने केही नेताहरुको पद व्यवस्थापन गरेर पार्टी एकता नहुने बताउँछन् । उनी अहिलेकै अवस्थामा माओवादीसँग एकीकृत समाजवादीको एकता संभव नरहेको बताउँछन् । ‘माओवादी साथीहरुसँग औपचारिक बार्तामै पनि हामीले भनेका छौं, अध्यक्षले भन्नुभएको छ– अहिले एकता संभव छैन । अहिले बनाउने भनेको बातावरण हो’, महासचिव भूसाल भन्छन् ।

आफू र एकीकृत समाजवादी वाम एकताकै पक्षमा भएपनि निश्चित प्रक्रिया र तयारीपछि मात्र कुनैपनि  पार्टीसँग एकता हुने उनी बताउँछन् । ‘पार्टी एकता भनेको कुनै ब्यापारिक साझेदारहरु जम्मा भएर कम्पनीहरु मर्जर गरे जस्तो कुरा होइन’ उनी भन्छन्, ‘पार्टीको विचार, सिद्धान्त, राजनीति, संगठन, कार्यशैली र मनोविज्ञानको विषयमा छलफल हुन सकेन भने त्यो एकता नेताहरुको मात्र हुन्छ ।’

प्रस्तुत छ, महासचिव भूसालसँग अनलाइनखबरकर्मी सइन्द्र राईले गरेको कुराकानीको सम्पादित अंश :

पार्टीलाई गति दिन महाधिवेशन गरिनुपर्ने हो, तर एकीकृत समाजवादी महाधिवेशनपछि झन् अलमलमा फसेजस्ते पो देखियो त ?

महाधिवेशनबाट हामीले समाजवादी कार्यक्रम पारित गरेका छौं, त्यो कार्यक्रम बोक्न सक्ने संगठन निर्माण गर्नुपर्छ । यसअर्थ आगामी दिनमा हाम्रा सामू अझ धेरै जिम्मेवारी छन् । त्यो जिम्मेवारी धेरै राम्ररी पुरा गर्ने तयारीमा समय लागेको छ । त्यसैले बाहिरबाट हेर्दा महाधिवेशनपछि झन् अन्योल आयो भन्ने लाग्नु स्वभाविक हो । तर आन्तरिक रुपमा तयारी अलिक बढी गरेका छौं ।

त्यसैपनि विद्रोहबाट पार्टी बनेकाले केही स्वभाविक समस्याहरु छन् । असाध्यै धेरै अव्यवस्थाकाबीच पार्टी बनेको स्वीकार्नुपर्छ, स्वीकार्छौ । त्यसलाई व्यवस्थामा ल्याउनुपर्ने थियो । हामीले विधान, कार्यक्रम र संगठनात्मक सिद्धान्तका हिसाबले धेरै राम्रो काम गरेका छौं । र एउटा व्यवस्था सुरु भएको छ । अब नरोकिनेगरी अगाडि बढ्ने तयारी गर्छौ ।

अगाडि कसरी बढ्नु हुन्छ भन्ने भविष्यमा देखिएला । तर एमालेको दशौं महाधिवेशनलाई सौराहा काण्ड भन्ने एकीकृत समाजवादीमा पनि धेरै फरक चाहिँ देखिएन भन्ने टिप्पणी सुनियो नि ?

होइन, यी दुई महाधिवेशन आधारभूत रुपले नै फरक हो । सौराहामा चुनावमा जाने भन्यौ, महाधिवेशनको म्याण्डेट चुनावमा जाने थियो । तर चुनाव हुन नदिनेगरी अध्यक्षले जर्बजस्ती गर्नुभयो। त्यतिबेला मैले हार्ने स्वतन्त्रताको ग्यारेन्टी गरियोस् भनेको हुँ । तर यस विपरीत एकीकृत समाजवादीको दशौं महाधिवेशनमा हलले नै सहमतिका लागि म्याण्डेट दियो । निर्विवाद र सर्वसहमतिबाट हलले नै सहमतिका लागि बाटो देखाउने लोकतान्त्रिक विधि अपनाइयो ।

तर हलले म्याण्डेट दिएको कुरा पनि तपाईहरु तीन पदाधिकारी बाहेक अरुले गरेको सुनिएन ?

त्यतिखेरको हलको भिडियो हेर्न सक्नु हुन्छ नि । विवाद थियो भने त लगत्तै आइसक्थ्यो । विवाद केहीपनि थिएन र सर्वसहमतिले यो निर्णय गरियो भन्नेमा कुनै विवाद छैन ।

बरु सर्वसम्मतिमा कमिटी निर्माण गर्ने भनेर जिम्मेवारी दिइसकेपछि फटाफट अगाडि बढिसक्नुपथ्र्यो भन्ने हलले अपेक्षा गरेको हुन सक्छ । त्यसकारण कसैमा गुनासो वा प्रतिक्रिया छन् भने स्वभाविक हो ।

तर सहमतिमा जाने भन्नासाथ मनलाग्दी चुन्ने भनेको त होइन । मनलाग्दी केन्द्रीय सदस्य थप्ने, पोलिटब्यूरो, स्थायी कमिटी, पदाधिकारीमा मनलाग्दी निर्वाचन गर्न अधिकार तीन जनालाई वा ९३ जनालाई दिएको होइन ।

त्यसैले बढी भन्दा बढी सहमति जुटाउने कुरा हामीले ख्याल गर्नुपर्थ्यो। केही टिप्पणी र केही आशंका हुनु स्वभाविक छ । तर हामीले हलको म्याण्डेटलाई सहमतिमा टुंग्याउन बढी प्रयत्न गर्यौ । र अहिले पनि त्यही गर्दैछौं ।

सहमति भनेर आफ्नो मान्छे च्याप्ने, गुट बनाउने कुराले विधि र योग्यता चाहिँ ओझेलमा परेको पनि सुनियो नि !

सहमति भनेको गुटहरुको र नेताहरुको सहमति होइन । त्यसैले निश्चित मापदण्ड बनायौं । महिला ३३ प्रतिशत स्वतः हुनेभयो । जनजाति, मधेशी, दलित, जनजाति, युवाहरु समेतको प्रतिधित्वको क्लस्टर बनाउँदा धेरै छलफल गर्नुपर्ने थियो । त्यो मापदण्डभित्र पर्नेहरुबीच विभेद र अन्याय नहोस् भनेर प्रयत्न गरेका हौं ।

यति प्रयत्न गर्दा पनि उमेर क्लस्टरबाट आउँदा स्वतः उनीहरु जुनियर पर्नेछन् । त्यहाँ उचानिचा हुनेछन् । तर ती सम्बन्धित क्लस्टरभित्र असन्तुष्टि नहोस्, तलमाथि नहोस्, विभेद नदेखियोस् भन्नेमा ख्याल गरेका छौं ।

तपाईले जे भन्नुभयो, यदि महाधिवेशन प्रतिनिधिलाई विश्वास गर्नुभएको भए, त्यो कुरा उनीहरुले नै टुंग्याउँथे नि, होइन ?

चुनावमा गएको भए हुन सक्थ्यो, स्वीकार्छु । तर नहुन पनि सक्थ्यो । किनभने इतिहासका घटनामा के हुन सक्थ्यो र के हुन सक्थेन भन्ने कुरा त बौद्धिक बिमर्शको कुरा हो ।

इतिहासकै कुरा गर्दा हललाई जिम्मा दिदा नयाँ र समावेशी टीम आएको छ नि । तपाईले एमालेको उपमहासचिव जित्दा गोकर्ण बिष्ट र योगेश भट्टराई जस्ता युवाहरुले पदाधिकारी जित्नु भएको थियो । कांग्रेसको महामन्त्रीमा युवा आउनुमा महाधिवेशनमा भएको चुनाव नै मूख्य कारण रहेकोमा बिमति छ र ?

यदि हामीले महाधिवेशनमा चुनाव गरेको भए नयाँ अनुहारहरु आउने संभावना थियो । तर त्यसलाई व्यवस्थापन गर्न निश्चित प्रतिशत युवाहरुका लागि ग्यारेन्टी गर्यौँ, चुनावबाट नआउन पनि सक्थ्यो ।

त्यसैले नयाँ मान्छेहरु केन्द्रीय कमिटीमा आउन् भन्ने कुरालाई विधानतः ग्यारेन्टी गर्यौ । त्यसले गर्दा नयाँ आएनन् भन्ने रहेनन् । तर भर्खर बनेको पार्टीमा सहमति गरेर जानु उपयुक्त हुन्छ भनेर हलले भनेपछि स्वीकारेर जानुपथ्र्यो । स्वीकार गरेर अगाडि बढेका छौं ।

पार्टी कमिटीमा मात्र होइन, राष्ट्रिय राजनीतिमै पनि एकीकृत समाजवादीको पोजिसन प्रष्ट छैन । एकीकृत समाजवादीको नीति प्रतिपक्षमा बसेर पार्टी बनाउने कि फेरि पनि एकता, मोर्चा र सत्ता हो ?

अहिले एकता सम्बन्धी जुन हल्ला चलेको छ, वास्तविकता त्यस्तो होइन । यसमा केही कुरा छन् । पहिलो-हामी वाम एकता र कम्युनिष्ट आन्दोलनको एकताको पक्षमा छौं । यो हाम्रो स्थायी मान्यता हो । व्यक्तिगत रुपमा भन्दा कम्युनिष्ट आन्दोलनको एकताको पक्षमा संभवतः सवभन्दा बढी मैले लेखेको छु, बोलेको छु र कार्यक्रमहरु आयोजना गरेको छु ।

दोस्रो-तर पार्टी एकता भनेको कुनै ब्यापारिक साझेदारहरु जम्मा भएर कम्पनीहरु मर्जर गरे जस्तो कुरा होइन । पार्टीको विचार, सिद्धान्त, राजनीति, संगठन, कार्यशैली र मनोविज्ञानको विषयमा छलफल हुन सकेन भने त्यो एकता नेताहरुको मात्र हुन्छ ।

‘एउटा ठूलो दुर्घटनाबाट आएको पार्टीले स–साना कुराहरुमा, केही भुलभुलैयाहरुमा पछाडि लाग्यौ भने यत्रो कार्यकर्ता, यिनको राजनीतिक भविष्यप्रति खेलबाड ठहरिन्छ ।’

केही नेताहरुले मात्र गरेको एकता नेताहरुको एडजस्टमेन्टको एकता हुन्छ । तिमी यसो गर्ने, म यसो गर्ने । तिम्रो यो पद हुनेछ, मेरो यो पद हुनेछ भनेर एकता गर्नुपर्ने हुन्छ । यो खतरनाक एकता हुन्छ ।

एमाले र माओवादीको एकता प्राविधिक हिसाबले ओली बलियो प्रधानमन्त्री हुने कुराबाट प्रेरित र प्रचण्डले दोस्रोपटक प्रधानमन्त्री पाउने सहमति थियो । दुवै जना अध्यक्ष हुने, दुवै जना पालैपालो प्रधानमन्त्री हुने बाहेक अरु विषयमा छलफल र कुराकानी भएन । प्रष्टता भएन ।

ओली र प्रचण्डको व्यक्तिगत पावर बार्गेनिङमा सेटलमेन्ट भयो, जसलाई एकता भन्यौ । त्यो एकता खतरामा पर्‍यो। त्यसैले अहिले एकीकृत समाजवादीले एकताको कुरालाई ‘तातो दुधले मुख पोलेको मान्छे, मोही पनि फुकीफुकी पिउँछ’ भने जसरी लिनुपर्नेछ ।

त्यसर्थ हामी एकताको पक्षधर हौं । तर तमाम् मुद्दामा ब्यापक छलफल हुनुपर्छ । अहिले माओवादीले हामीलाई चिन्ने गठबन्धनमा सहभागी एउटा दल र माधव नेपालको पार्टी भनेर हो । हामीले माओवादी चिन्ने प्रचण्डजीको पार्टी भनेर हो । आजको माओवादी राजनीति, माओवाद, उसको संगठनात्मक सिद्धान्तबारे हामी औपचारिक रुपले जानकार छैनौं ।

Image may be NSFW.
Clik here to view.

यस अर्थमा अहिले जे चलेको (एकताको हुँदै गरेको) छ, यो हल्ला हो । हामी एकताको विन्दुमा पुगिसकेका छैनौं । सविस्तार कुरा गर्दा समाजवादी मोर्चा बनाएका थियौं, र त्यो मोर्चाबाट हामी कम्युनिष्ट आन्दोलनको एकता गर्ने आधारहरु तयार पार्न चाहन्थ्यौं । तर त्यस्तो हुन सकेन, यो दुर्भाग्य हो ।

खासगरी प्रचण्ड कमरेडले भन्नुभए जस्तो संसद्भित्र म्याजिक नम्बर बनाउने कुरामा मात्र मोर्चा काम लाग्यो । तर अहिले हामी सबै सरकार बाहिर छौं । त्यसर्थ यो मोर्चालाई बलियोगरी स्थापित गरौं । त्यसलाई नीति, सिद्धान्त र कार्यक्रममा आधारित मोर्चाको रुपमा विकसित गर्न सक्यौं भने त्यो निसन्देह एकतातर्फ जान्छ र त्यो दीगो एकता हुन्छ ।

मोर्चाभित्र पनि हामी र माओवादी अलिक छिटो मिल्न सक्छौं । वा हामी र विप्लव कमरेड बीच अलिक छिटो मिल्न सक्छौं । अर्थात् दुई पक्षीय, बहुपक्षीय छलफलहरु चलाउन र समग्रतामा मोर्चालाई एकतातर्फ लैजान सक्छौं । मोर्चालाई सुदृढ पार्दै लैजानु बढी श्रेयस्कर हुन सक्छ ।

तर कुरा त अलिक परै पुगिसकेको नेताहरुले बताइरहेका छन् । कुराकानी बढ्दै जाँदा साझा संसदीय दल बनाउने सहमति नै भयो, र माधव नेपाल प्रधानमन्त्रीको उम्मेदवार बन्नेगरी दलको नेता बन्ने प्रस्ताव प्रचण्डले गर्नुभयो भन्ने छ नि ?

मिडियाहरुले पनि लेखेको सुनेका छौं । तर उहाँले (माधव नेपाल) नै हामीसँग यसरी भन्नु भएको छैन । कतै कही अनौपचारिक रुपले यसो गरे हुन्थ्यो भनेर कुरा भएको छ भने मलाई थाहा छैन । मलाई थाहा छैन भन्नुको अर्थ पार्टीलाई औपचारिक रुपले केही पनि थाहा छैन ।

र मैले अघि भनिसके, संसदीय दलको नेतृत्व वा पार्टीको नेतृत्व भागबण्डाको आधारमा हुने एकताको पक्षमा नेकपा एकीकृत समाजवादी छैन, र हुँदैन । किनभने इतिहासले सिद्ध गरिसकेको छ, यस्तो प्रकृतिको एकता टिक्दैन ।

अझ एउटा ठूलो दुर्घटनाबाट आएको पार्टीले यस्तो स–साना कुराहरुमा, केही भुलभुलैयाहरुमा पछाडि लाग्यौ भने यत्रो कार्यकर्ता, यिनको राजनीतिक भविष्यप्रति खेलबाड ठहरिन्छ ।

अहिले जे चलेको (एकताको हुँदै गरेको) छ, यो हल्ला हो । हामी एकताको विन्दुमा पुगिसकेका छैनौं ।

यस्तो खेलबाड हामीले गर्दैनौं, अध्यक्षले त्यस्तो गर्नुहुन्छ भन्ने मलाई लाग्दैन । र एकीकृत समाजवादीको कसैले पनि यस्तो काम गर्दैन । स्वभावैले नेकपा माओवादीका साथीहरुले (पहिलेदेखि नै) एकताको कुरा गरिरहनुभएको छ, हामीले पनि नगरेको चाहिँ होइन ।

तर लामो समय एकताको बातावरण बनाउने काम गरेनौं । एकताको बातावरण नबनाउने, र एकताको कुरा गर्नेले राम्रो गर्दैन । माओवादी साथीहरुसँग औपचारिक बार्तामै पनि हामीले भनेका छौं, अध्यक्षले भन्नुभएको छ– अहिले एकता संभव छैन । अहिले बनाउने भनेको बातावरण हो ।

सम्भावित प्रधानमन्त्री पदमा एकता हुँदैन ?

हिजो पनि हामीलाई प्रधानमन्त्रीको कुरा (दिने) भएको थियो । जतिखेर कांग्रेस, माओवादी र हामी समेतको समीकरण बन्यो, त्यतिखेर निश्चित समय हामीले प्रधानमन्त्री पाउनेछौं भन्ने समझदारी थियो । त्यो भत्कियो ।

पछि ओलीजीसँगको गठबन्धन हुँदा पनि तीन पार्टी बीचमा (एमाले, माओवादी र एकीकृत समाजवादी) माधवकुमार नेपाल प्रधानमन्त्री हुने निश्चित गरियो । त्यो पनि भत्कियो ।

प्रधानमन्त्री पार्टीले पाउने कुरा स्वभावैले महत्वका हुन्छन् । राजनीति बुझ्ने हरेक मान्छेले त्यो जान्दछ । तर दुई÷दुई, तीन÷तीन पटक प्रधानमन्त्रीको रुपमा प्रोजेक्ट भएको, अनि विभिन्न कारणले नभएको आफ्नै अनुभव पनि हामीसँग छ ।

त्यसो हुँदा केबल प्रधानमन्त्री भन्ने अपेक्षा अथवा लोभमा परेर पार्टी निर्माणको प्रक्रिया (किनभने हिजो विद्रोह थियो, महाधिवेशनपछि पार्टी निर्माण सुरु भएको छ) लाई बिथोल्न दिदैनौं । कसैले प्रधानमन्त्रीको ढोक्सा थाप्यो भनेर त्यस्तोमा पर्दैर्नौ ।

तर एकीकृत समाजवादीको पछिल्ला राजनीति त त्यही प्रधानमन्त्रीको ढोक्सा र प्रचण्डलाई पछ्याउने जस्तो मात्र देखिन्छ नि ?

तपाईले त्यस्तो देख्नु ठीकै हो, त्यस्तो भयो पनि । विशेषगरी चुनावपछि प्रचण्डले गठबन्धन जोड्ने र तोड्ने गरिरहनुभयो, हाम्रो साथ रहिरह्यो । यसले माओवादीले जे भन्छ, त्यही गर्ने स्याटलाइट पार्टी पो हो कि भन्ने पर्न सक्छ । त्यसलाई इन्कार गर्दिनँ । तर फेरि पनि भन्छु, हिजोको कमीकमजोरीको सबै जिम्मा लिन तयार छौं, लिन्छौं ।

र अब हामी समाजवादी कार्यक्रम बोकेर (खासगरी रोजगारी, उत्पादन, कृषि, उद्योग, शिक्षा, स्वास्थ्य, सुशासन, अरु पूर्वाधार लगायतका मुद्दा उठाउँदै) सदनदेखि सडकसम्म जनतामा जान्छौं । अबको हाम्रो स्पष्ट बाटो पार्टी निर्माण हो । आउने बैठकबाट यो प्रक्रिया सुरु गर्छौं। यो प्रक्रिया ढिलो हुँदैछ, तर धेरै शक्तिशाली प्रक्रिया सुरु गर्नेगरी तयारी गरेका छौं ।

Image may be NSFW.
Clik here to view.

पक्कैपनि हाम्रो पार्टीको जन्म सत्ताबाटै भयो, जसले गर्दा सधैंभरी सत्ताकै वरिपरी रहेर नकारात्मक कुराबाट प्रभावित रह्यौं । तर अब सत्ता राजनीतिको प्रभावबाट मुक्त रहेको, समाजवादी कार्यदिशा बोकेको संगठनात्मक व्यवस्था र दिशा भएको पार्टी निर्माण गर्छौ ।

अझ समय लाग्छ । हामीले भन्नासाथ सबैले पत्याइहाल्छन् भन्ने लाग्दैन । तर निरन्तर काम गरेर दुनियाँलाई विश्वस्त पार्नेर्छौ । र नेकपा एमालेबाट जुन कारण र उद्देश्यबाट विद्रोह गरेर निस्केका छौं, त्यो कुरा पुष्टि गरेर देखाउँछौं ।

यदि यो संकल्पलाई यताउता गर्यौं भने इतिहासले हामीलाई धेरै ठूल्ठूला प्रश्नहरु सोध्नेछन्, जसका अगाडि निरुत्तर हुनुपर्ने दुर्भाग्य चाहन्नौं ।


Viewing all articles
Browse latest Browse all 1403

Trending Articles